१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

सबैको चासोको बनगाई-डोहोटे सडकखण्डको स्तरोन्नती



बाबुराम रायमाझी, भलवाड ।
दुई जिल्ला जोड्ने बनगाई-डोहोटे सडकको स्तरोन्नती हुने भएको छ । कपिलवस्तु र अर्घाखाँची जोड्ने बनगाई-डोहोटे सडकखण्डको स्तरोन्नतीको काम अगाडी बढेको हो । जिल्लाको वाणगंगा नगरपालिका- ७ बनगाई र अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटे जोड्ने बाटोको स्तरोन्नतीको काम शुरु भएको हो ।
१३ किमि रहेको बनगाई डोहोटे सडकखण्ड नेपाल सरकारको बजेटमा कालोपत्रे हुन लागेको छ । सडकको दायाँवायाँ ११ मिटर चौडा रहने र ७ मिटर कालोपत्रे हुने ठेगेदार कम्पनीले जनाएको छ । भिमेश्वर सिएबी जेभी कन्सट्रक्सन बुटवलले उक्त सडकको ठेक्का पाएपछि काम अगाडी बढेको छ । ठेगेदारले सडक आयोजनाबारे जानकारी गराउदै समयमै काम सम्पन्न गर्न स्थानीयवासी, राजनीतिक दल सवैलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।
१ वर्षमै सडक सम्पन्न गर्ने गरी जिम्मेवारी पाएको भिमेश्वर कन्सट्रक्सनले बाटो विस्तारको काम अगाडी वढाएको छ । लामो समयदेखि नाम चलेको बनगाई डोहोटे सडक खण्ड यस आर्थिक वर्षमा बजेट परेपछि स्थानीय खुशी भएका छन् । बजेट परेसंगै ठेकेदारले सडक स्तरोन्नतीको कामलाई अगाडी वढाएपछि योजना सम्पन्न हुनेमा आशावादी छन् ।
उक्त सडकखण्ड पुराभएपछि कपिलवस्तु र अर्घाखाँची जिल्ला आवतजावतमा निकै छोटो दुरीमा पुग्न सकिन्छ । साथै भारतीय बजार देखि अर्घाखाँची लगाएतका जिल्लामा व्यापारिक कारोवार गर्नेहरुको लागि पनि सस्तो र सुलभ हुनेछ ।
भारतको खुनुवा नाका हुदै तिलौराकोट, जगदिशपुर, लक्ष्मणघाट, कपिलधाम हुदै अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शन र रमणिय मनमोहक ठाउँ नरपानी आउने जाने पर्यटकलाई राम्रो पर्यटकीय गन्तब्य बन्ने बाणगंगा ९ का वडा अध्यक्ष ध्रुव वेल्वासेले बताउनुभयो ।

प्रकाशित मिति : १ श्रावण २०७६ बुधबार ००:००  २ : ५७ बजे