काठमाडौं ।
अविरल वर्षा गराउने मनसुनी न्यून चापीय रेखा आज (बुधबार) देखि नेपालबाट हटेकाले वर्षा कम हुने अनुमान मौसमविद्ले गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले उक्त रेखा बिस्तारै दक्षिणतर्फ सर्दै आजदेखि भारत प्रवेश गरेकाले अब वर्षा कम हुने जानकारी दिएकी हुन् ।
‘तर त्यसो भनेर वर्षा नै नहुने भने होइन,’ उनले भनिन्, ‘मनसुनका बेला हो, वर्षा त हुन्छ नै, तर अब पहिलेजस्तो अविरल वर्षा हुने सम्भावना छैन ।’
न्यून चापीय रेखा अहिले भारतको उत्तर प्रदेशतिर रहेको मौसमविद् पोखरेलको भनाइ छ । तर त्यो रेखा तलमाथि सरिरहने भएकाले पुनः नेपाल आउने सम्भावना पनि छ ।
उक्त रेखा नेपालमै रहेका बेला लगातार वर्षा भएको वा हुने मौसमविद् बताउँछन् । यसअघि न्यून चापीय रेखा नेपालमै थियो भने न्यून चापीय क्षेत्र पनि सक्रिय थियो ।
यी दुवै प्रणाली सक्रिय रहँदा अविरल तथा भारी वर्षा भएको हो । जसका कारण देशमा बाढीपहिरो आएर ठूलो जनधन क्षति भयो ।
अब भने बाढीपहिरोको जोखिम कम रहेको मौसमविद् पोखरेलको अनुमान छ । तैपनि पहिलेकै वर्षाले जमिन गलिसकेकाले थोरै वर्षाले पनि बाढीपहिरो जाने सम्भावना रहने भएकाले सतर्कता भने अपनाउनुपर्ने मौसमविद्को भनाइ छ ।
कस्तो छ आजको मौसम ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भेगमा सामान्य बदली छ भने मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्यसम्म बदली छ ।
अहिले पूर्वी भेगका थोरै स्थानहमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज पनि देशका केही स्थानमा वर्षा हुने सम्भावना छ । देशको १/२ स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।
तर मनसुनी गतिविधि देशभर सक्रिय रहेकाले यही ठाउँमा पानी पर्छ वा भारी वर्षा हुन्छ भनेर किटान गर्न नसकिने मौसविद् पोखरेल बताउँछिन् । ‘त्यो यही काठमाडौं उपत्यकामा पनि हुन सक्छ वा तराईतिर पनि,’ उनले भनिन् ।
१ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया