१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

आफूलाई धुलो चटाउने आजाक्सका कप्तानलाई युभेन्टसले किन भित्र्याउँदै छ ?



एजेन्सी,
डच क्लब अजाक्सका कप्तान माथेज डी लिग्ट इटालियन सिरी ए फुटबल क्लब युभेन्टसमा अनुबन्धित हुने भएका छन् । सिरी ए च्याम्पियनमा अनुबन्धित हुने प्रक्रिया पूरा गर्नका लागि डी लिग्ट तुरिन पुगेका छन् ।

१९ वर्षका डी लिग्टको नाम इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पनि जोडिएको थियो । यस्तै बार्सिलोना, पेरिस सेन्ट–जर्मेन ९पिएसजी० सहितका क्लबले पनि उनमा चासो देखाएका थिए ।

डी लिग्टको कप्तानीमा अजाक्सले गएको सिजन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । निजी विमानबाट तुरिन पुगेका उनले भनेका छन्, ‘यहाँ आउँदा खुशी लागेको छ ।’

सन् २०१६ मा डेब्यु गरेका उनले डच लिग र डच कपको उपाधि जितेका छन् । यस्तै सन् २०१७ मा अजाक्स युरोपा लिग फुटबलको फाइनलमा पुगेको थियो । ९ वर्षको हुँदा अजाक्समा आएका उनले क्लबबाट लिगमा ७७ खेलमा ८ गोल गरेका छन् ।उनी गएको वर्ष ९२०१८० को मार्चमा क्लबको कप्तान बनेका थिए र उनी सबैभन्दा कम उमेरमा अजाक्सको कप्तान बने ।

उनले गएको सिजन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको क्रममा युभेन्टसविरुद्ध विजयी गोल गरेका थिए । युभेन्टसलाई पराजित गरेर अन्तिम चारमा पुगेको अजाक्स टोटनह्यामसँग पराजित भएको थियो ।

उनले नेदरल्याण्डसको राष्ट्रिय टिमबाट सन् २०१७ को मार्चमा डेब्यु गरेका थिए, त्यसबेला अजाक्सबाट लिगमा उनले मात्रै दुई खेल खेलेका थिए ।युभेन्टसले उनलाई ६७।५ मिलियन पाउण्डमा अनुबन्धित गर्न लागेको हो।

प्रकाशित मिति : १ श्रावण २०७६ बुधबार ००:००  ७ : ४४ बजे