रुपन्देही ।
रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । विभिन्न कार्यालय तथा सङ्घसंस्थाले गरेको अनुगमनका क्रममा पम्पहरुमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको पाइएको हो ।
आइतबार र सोमबार अनुगमनपछि प्रतिवेदन सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराईले अनुगमन गरिएका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोलको नापतौल ठीक भएको जानकारी दिए ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, वाणिज्य कार्यालय, नापतौल तथा गुणस्तर विभाग, आयल निगम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले गरेको अनुगमनका क्रममा रुपन्देहीका पेट्रोल पम्पमा गुणस्तर राम्रो भएको पाइएको हो ।
टोलीले रुपन्देहीको ओमसतीया गाउँपालिका–४ स्थित मोहित आयल फिलिङ सेन्टर र हरिकृष्ण आयल सप्लायर्स, सिद्धार्थ नगरपालिका–१ स्थित नवजीवन स्टोर्स, बुटवल रामनगरस्थित अशोका सप्लायर्स, श्री रिपुमर्दिनी पेट्रोल पम्प र बुटवलको नेपालगञ्ज रोडमा रहेको बुटवल डिजेल सेन्टरमा अनुगमन गरेको हो ।
नापतौल तथा गुणस्तर विभागका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति पाँच लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यो भन्दा कम भएमा ठगी गरेको ठहरिने प्रमुख पोखरेलले बताए ।
पेट्रोल पम्पको गुणस्तर सही भए पनि अधिकांशमा सुरक्षा उपकरण भने नभएको पाइएको छ । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने पेट्रोल पम्पमा विपद् वा आगलागीका घटनाबाट बच्न प्रयोग हुने सुरक्षा उपकरणहरु तयारी अवस्थामा राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत झबिलाल भट्टराईले जानकारी दिए ।
१ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया