१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

पहिलो ‘ ऋषिवेद व्यास पुरस्कार’ कपिलवस्तुका भुवन गुरुलाई



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुका ब्यासाचार्य भुवन गुरुलाई पहिलो ‘ऋषिवेद व्यास पुरस्कार’ प्रदान गरिएको छ । अमेरिकामा रहेको लभ एण्ड सपोर्ट फाउण्डेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गरी ग्लोबल नेपाली फिल्म, म्यूजिक मिडिया एण्ड सोसल अवार्ड अन्तर्गत ‘ऋषिवेद व्यास पुरस्कार’बाट भूवन गुरुलाई पुरस्कृत गरेको हो । अवार्ड वितरण कार्यक्रमका प्रमुख अतिथि अमेरिकास्थित नेपाली राजदुत डाक्टर अर्जुन प्रसाद कार्कीले सो सम्मान भुवन गुरुलाई प्रदान गर्नुभएको थियो । अध्यात्मको माध्यमबाट नेपाली कला,संस्कृति र सभ्यताको विकाससंगै युवाहरुलाई समाज रुपान्तरण लगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपालबाट भुवन गुरुलाई सम्मान गरेको संस्थाका अध्यक्ष मनोज राइले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । आयोजकका अनुसार नेपालमा ब्यासाचार्यहरुलाई प्रदान गर्ने यो नै पहिलो पुरस्कार हो । सम्मान कार्यक्रममा नेपाली चलचित्रका वरिष्ठ अभिनेता सुनिल थापा लगायतको उपिस्थिति रहेको थियो । नेपाली चलचित्रको क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै सो संस्थाले वरिष्ठ अभिनेता सुनिल थापालाई पनि सम्मान गरेको छ ।


सम्मान ग्रहण गर्दै भुवन गुरुले यो अवार्डले आफूलाई थप उर्जाशिल बनाएको बताउनु भयो । आफ्नो अध्ययन र प्राप्त गरेको ज्ञानले समाजलाई सही दिशा निर्देश गर्न आफूहरु देशविदेश हिँडिरहेको भन्दै गुरु घिमिरेले यो सम्मानपछि यस अध्यात्मिक अभियानमा थप जिम्मेवारी बोध भएको मायादेवी अनलाइनसंग बताउनु भयो । ब्यासाचार्य गुरु भुवन अहिलेसम्म देश र विदेशका दर्जनौँ स्थानमा पुगेर ब्यासमा आसिन भइसक्नु भएको छ । ब्यासमा गुरु भुवनको अध्यात्मको दरो ज्ञान र संगितमय भजनमा पृथकता देखिन्छ ।

प्रकाशित मिति : ३१ असार २०७६ मंगलबार ००:००  १० : ५३ बजे