मायादेवी अनलाइन, तौलिहवा ।
सिमावर्ती क्षेत्र भारतका विभिन्न स्थानमा संचालित नेटवर्किङ विजनेश मार्फत ठगी गर्ने नेपाली गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । भारतको गोरखपुर, पचपेडवा र बनारसबाट संचालित युनिटी नेटवर्किङ विजनेशमा संलग्न ११ व्यक्तिलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको हो । पक्राउ हुनेमा पहाडी र पूर्वी जिल्लाका १९ देखि २३ वर्षका युवा युवती रहेका छन् ।
यसरी पक्राउ पर्नेमा दैलेखका १९ वर्षीय कर्ण सलामी मगर, सुनवल २२ का अशोक अधिकारी, झापाका २१ वर्षीय खगेन्द्र निरौला, सप्तरीका २० वर्षीय मिथलेस यादव, रौतहटका २० वर्षीय मुकेश राउत, बाँकेका २३ वर्षीय हेमराज थापा, उदयपुरका २२ वर्षीय मन्जुला राइ, सप्तरीका १९ वर्षीय कमलेश यादव, धादिङका २१ वर्षीय दिपा पुरी र रोल्पाका १९ वर्षीय क्षितिज खरेल रहेका छन् । उनीहरुले सदस्यता बनाउने नाममा ४१ जना पिडितबाट १ करोड ३२ लाख ५१ हजार ३ सय रुपैया ठगी गरेको बताइएको छ ।
भारतीय बजार पचपेडवा, गोरखपुर र बनारसमा संचालित नेटवर्किङ्ग विजनेश कम्पनीले नेपाली युवायुवतीलाई सदस्यता बनाई करोडौंको रकम ठगी गर्दै आएका छन् । उनीहरुले फेसबुक तथा सामाजिक संजाल मार्फत आफन्त तथा विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर नेपालमै जागिर लगाइदिन्छु भनेर झुक्याई भारतसम्म लैजाने गरेको प्रहरीले जनाएको छ । २ हप्तादेखिको निरन्तर प्रयास पछि इलाका प्रहरी कार्यालय कृष्णनगरले ठगी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।
नेटवर्किङ्ग विजनेश संचालन गरेर पैसा संकलन गर्ने गिरोहको नाइके सहित ७ जना फरार रहेको प्रहरीले जनाएको छ । केन्द्रिय अनुसन्धान व्युरोको समन्वयमा नेटवर्किङ्ग व्यवसाय गरी फरार रहेका धादिङका रन्जन लामा, दार्चुलाका भुपेन्द्र धामी, रौतहटका अमित कुमार चौधरी, गोरखाका सुशिल विक, मकवानपुरका अभिराज तामाङ्ग र भारत घर भएका सर्भिस पाण्डे फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो ।
विजनेश कम्पनीले भारतका ३ स्थानबाट हालसम्म झण्डै २५ सयले सदस्यता लिएको र १३ महिनाको अवधीमा अन्दाजी ६ करोड भन्दा बढी रकम संकलन गरिएको प्रहरीले जनाएको छ ।
३१ असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया