थानेश्वर अधिकारी, कपिलबस्तु ।
कपिलबस्तुको ऐतिहासक तथा धार्मिक तिर्थस्थलका रुपमा परिचित लक्ष्मणघाट बोलबम धाममा आज एक भव्य कार्यक्रमका विच भगवान शिवको मुर्ति स्थापना गरिएको छ । मूर्ति स्थापना अघि मूर्तिलाई गाडीमा राखेर लक्ष्मणघाट, कोपवा, सुठौली, बैदौली, हरनामपुर, कुश्मा लगाएतका गाउँ परिक्रमा गराउदै लक्ष्मणघाट बोलबम सो कार्यक्रममा कलश यात्रा सहित स्थानीयहरुले भजन कृतन गाउदै नाच गान गरिरहेका धाममा पुर्याइएकोथियो ।
बोलबम धाममा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पोखरीको विच भागमा सो शिव मुर्ति स्थापना गरिएको छ । प्रदेश सरकारबाट प्राप्त २० लाख बजेटबाट बोलबमधाममा स्नान स्थल, बाउण्डरी वाल , पोखरी निमार्ण माटो पटान लगाएतका कार्य गरिएको छ । हरनामपुरका समाजसेवी राजाराम चौधरीले करिव ५५ हजार मुल्य बराबरको मुर्ति निर्माण गरि निःशुल्क रुपमा धामलाई हस्तान्तरण गर्नु भएको हो । बोलबमधाम विकास समितीका अध्यक्ष रणबहादुर काउचा र निर्वतमान अध्यक्ष तेजेन्द्र बहादुर पाण्डेले संयुक्त रुपमा सो मुर्तिको स्थापना गर्नुभएको छ ।
बोलबम धामलाई व्यवस्थित र आकर्षणमय बनाउन मन्दिरमा रंगरोगन र सरसफाइ गर्ने कार्य तिब्र गतिमा भैरहेको छ । साथै आगामी दिनमा धामको चौरमा भगवान लक्ष्मणको मुर्ती स्थापना गर्ने तथा मन्दिरलाई सुन्दरीकरण गर्न फुलहरु रोपिने अध्यक्ष रणबहादुर काउचाले बताउनु भएको छ । कपिलवस्तु जिल्लाकै मुख्य धरोहरको रुपमा मानिने बोलबम धामलाई पर्यटकीय स्थलको रूपमा विकास गरी अन्तरिक तथा बाह्रय पर्यटकहरुको गन्तव्य स्थल बनाउन यस धामलाई पछिल्लो समय व्यवस्थित गर्दै लैजान थालेको पुर्व अध्यक्ष तेजेन्द्र बहादुर पाण्डेले बताउनुभयो ।
गुरुपुर्णिमाको दिन देखी क्रषि तर्पण जनैपुर्णिमा सम्म संचालन हुने सो बोलबम मेलाको आज देखि शुभारम्भ भएको छ ।
मागेको वर पूरा हुने धार्मिक जन विश्वास रहेकाले कपिलबस्तु, दाङ, अर्घाखाँची, रुपन्देही लगायत छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आई शिव भगवानलाई जलार्पण गर्ने गर्दछन् । यो समयमा महिलाहरू हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । लक्ष्मणघाटको पवित्र जल र बोलपत्रले शिवको पूजा,आराधना गरेमा आफ्नो मनोकामना पूरा हुने बिश्वास छ । मेलामा साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ ।
यसरी चढाउँदा विवाहिता महिलाले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दछन् भने अविवाहिता महिलाले असल श्रीमानको कामना गर्दा मनोकामना पूरा हुने विश्वास रहेको छ ।
प्रतिक्रिया