मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका शुन्य होम डेलिभरी (घरमा शुन्य प्रसुती) वडा घोषणा गर्ने कपिलवस्तुको पहिलो स्थानीय तह बनेको छ । नगरका दुई वडालाई शुन्य होम डेलिभरी घोषणा गर्दै बुद्धभूमि जिल्लाकै पहिलो स्थानीय तह बनेको हो । घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्नका लागि देशव्यापी यो अभियान सञ्चालन भैरहेको छ ।
बुद्धभूमि शुन्य होम डेलिभरी गराउने स्थानीय तह बनेपछि प्रदेश नं. ५ मा कपिलवस्तु नै तेस्रो जिल्ला बन्न पुगेको छ । यसभन्दा अघि प्रदेश ५ का अर्घाखाँची र पाल्पामा केही स्थानीय तहले शुन्य होम डेलिभरी घोषणा गरेका थिए ।
सोमबार नगरपालिकाका दुई छुट्टा छुट्टै वडामा कार्यक्रम आयोजना गरी बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले शुन्य होम डेलिभरी वडा घोषणा गर्नुभएको हो । वडा नं. २ को गोरुसिंगेमा वडाध्यक्ष भेषराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडाभित्रका ९९ प्रतिशत महिला स्वास्थ्य संस्थामा गई सुत्केरी भएको तथ्याङ पेश गरिएको थियो । आव ०७५÷०७६ मा कुल १ सय ५२ जना महिला सुत्केरी भएकोमा एक जनाले मात्र घरमा सुत्केरी भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
यता वडा नं. ५ का वडाध्यक्ष बेचन प्रसाद यादवको अध्यक्षतामा साविक राजपुर गाविसलाई शुन्य होम डेलिभरी भएको घोषणा गरिएको थियो । आव ०७५÷०७६ मा कुल १ सय २५ महिला सुत्केरी भएकोमा १ जनाले मात्र घरमा बच्चा जन्माएको प्रतिवेदन सार्वजिनक भएको थियो । नेपाल सरकारले तोकेको मापदण्ड पुरा भएपछि यी दुवै वडा शुन्य होम डेलिभरी भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्वासेले जानकारी दिनुभयो ।
आगामी बर्ष नगरपालिकाका थप तीन वडालाई पनि होम डेलिभरी बनाउने योजना रहेको बेल्वासेले जानकारी दिनुभयो । नगरका वडा नं. १, वडा नं. ३ र वडा नं. ९ मा पनि यो अभियान अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरलाई शुन्य होम डेलिभरी नगर घोषणा गर्ने अभियानमा रहेके बताउनुभयो । नगरलाई मानव विकासको सुचाकङ्कमा सबैभन्दा अगाडि लैजाने योजना रहेको भन्दै यस अभियानमा सबैको साथ हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नगरपालिकाले यसै आवबाट एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । नगरभित्रका विरामीलाई मध्यनजर गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । नगरभित्रका गर्भवती महिलालाई सुत्केरी हुँदा वर्थिङ सेन्टरसम्म पुग्नका लागि निशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरिएको छ । यसले पनि शुन्य होम डेलिभरी अभियानमा सघाउ पुगेको स्वास्थ्यकर्मीहरु बताउँछन् । नगरपालिकाका ५ वडामा बर्थिङ सेन्टर छन् ।
सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि विशेष प्रोत्साहन पनि दिदै आएको छ । गर्भवती हुँदा स्वास्थ्य संस्थामा गई ४ पटकसम्म स्वास्थ्य जाँच गराएवापत ८ सय रुपैया दिदै आएको छ । यस्तै सुत्केरी हुने महिलाका लागि १ हजार सुत्केरी भत्ता पनि सरकारले दिदै आएको छ । घरमा सुत्केरी हुने महिलाको स्वास्थ्य जुनसुकै बेला जे पनि हुन सक्ने भएकोले अनिवार्य रुपमा स्वास्थ्य संस्था लैजानुपर्ने स्वाथ्यकर्मीहरु बताउँछन् ।
प्रतिक्रिया