भोजपुर ।
सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिँदै गर्दा मध्यान्ह १२ बजेतिर अख्तियारले पक्राउ गरेको हो । षडानन्द नगरपालिका वडा नं. १३ मा रहेको छाँगे खोला सिँचाइ आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफराक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले घुस लिएको बताइएको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको झण्डै ९८ लाख लागत अनुमान रहेको सिँचाइ आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको कार्यालय स्रोतले जनाएको छ । उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिसन दिए मात्र मूल्यांकन गरी बिल पास गरिदिने बताउँदै आएका थिए ।
आर्थिक वर्षका अन्त्यमा कार्यालयमा उपभोक्ताहरुको कामको चापलाई छाडेर हिंडेका इन्जिनियर यादव कार्यालय नजिकै रहेको फुपू(भदैनी खाजा घर एण्ड लजमा घुस रकम लिन पुगेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले त्यही होटलबाट उनीहरुलाई रंगेहात पक्रेको हो ।
३० असार २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया