एजेन्सी ।
१९८७ मा हजारौँ वर्षपछि पृथ्वीको जनसङ्ख्या ५ अर्ब पुगेको थियो । तर ३२ वर्षमै हामी ८ अर्बको नजिक आइसकेका छौँ । यस्तोमा अत्याधिक जनसङ्ख्या वृद्धिले निम्त्याउने समस्या सम्बन्धी सचेत गराउँदै संयुक्त राष्ट्र संघले १९८७ मा विश्व जनसङ्ख्या दिवसको स्थापना गरेको थियो र जुलाइ एघारमा सो दिन विश्वभर मनाइने गरिएको छ । हाल विश्वको जनसङ्ख्या ७.७ अर्ब रहेको छ जुन अत्यन्तै ठूलो सङ्ख्या हो । जस्तैकि ७.७ अर्ब सेकेन्ड सन् २२६३ मा मात्र पूरा हुन्छ । त्यसैले अहिलेको जनसङ्ख्या नै वातावरणमा यति हावी भइसकेको छ भने भविष्यमा अझ बढ्दै जानुले प्रकृतिलाई कति भयानक अवस्थामा पुर्याउला भन्नेबारे विज्ञहरुले ठूलो चिन्ता व्यक्त गर्दै आइरहेका छन् । विश्वव्यापी जनसङ्ख्याबारे सीएनएनले सबै ट्रेन्डहरुको नजिकैबाट अध्ययन गरेको छ ।
संयुक्त राष्ट्र संघका अनुसार २०१० पछि विश्वका केबल २७ देशहरुको जनसङ्ख्यामा मात्र १ प्रतिशत वा सो भन्दा बढीले गिरावट देखिएको छ । सो असर कम प्रजनन स्तरका कारण भएको पाइएको छ त्यसमा पनि विशेषगरी चीन र जापान घट्दो जनसङ्ख्याले सबैभन्दा धेरै प्रभावित छन् । यसरी विश्वव्यापी प्रजनन दर १९९० मा ३.२ जन्म प्रति महिलाबाट २०१९ मा २.५ प्रति महिला पुगेको छ र आगामी दिनहरुमा झन कम हुने अनुमान रहेको छ । तर केही स्थानका यी गिरावटलाई अन्य क्षेत्रमा ठूलो स्तरले वृद्धि भएको जनसङ्ख्याले अर्थ्हिन पारिदिने गरेको छ । जस्तै सब साहारा क्षेत्रको जनसङ्ख्या केही समयमै दुई गुणाले बढ्ने विज्ञहरुको भविष्यवाणी छ । विश्वव्यापी जनसङ्ख्यामा सबैभन्दा बढी वृद्धि हुने नौ देशहरु– भारत, नाइजेरिया, पाकिस्तान, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इथियोपिया, तान्जानिया, इन्डोनेशिया, इजिप्ट, अमेरिका मध्ये पाँच देश अफ्रिकामा रहेका छन् ।
त्यसैगरी विश्वव्यापी औसत आयु पनि सन् २०५० सम्ममा ७२.६ बाट ७७.१ पुग्ने अनुमान गरिएको छ । तर अर्कोतर्फ विश्वका कम विकसित देशहरुको औसत जीवन आयु भने विश्वव्यापी भन्दा ७.४ वर्ष कम छ ।
संयुक्त राष्ट्रका अनुसार ती देशहरुमा बढ्दो हिंसा र उच्च मृत्यु दर लगायत विभिन्न माहामारीका कारण यस्तो भइरहेको छ । यसरी अधिकांश गरिब राष्ट्रको जनसङ्ख्या असिमित रुपमा वृद्धि भइरहेको पाइएको हो जसकारण प्रदुषण, श्रोतसाधन घट्दै जानु, भीडभाड बढ्ने, कुपोषण, लैङ्गिक विभेद र खतरनाक रोगहरु फैलिने, अपराधिक गतिविधिको वृद्धि लगायत विभिन्न सामाजिक तथा वातावरणीय समस्याहरु व्यापक भइरहेका छन् ।
त्यस्तै विश्वजनसङ्ख्याको डाटा अध्ययन गर्दा अर्को तथ्य पनि स्पष्ट भइरहेको छ कि अहिलेको पिँढी छिट्टै बूढो हुँदै गइरहेको छ । २०१८ मा मात्र विश्वमा पहिलोपटक ६५ वर्ष भन्दा बढी उमेरका मानिसहरुको सङ्ख्या पाँच वर्ष मुनिका शिशुहरु भन्दा बढी रहेको पाइएको थियो । यसरी औसत आयु वृद्धि हुनुले र प्रजनन स्तर कम हुनुका कारण कम बालबालिका जन्मिरहेका छन् भने मान्छेहरु धेरै उमेरसम्म बाँचिरहेका छन् । यो खबर विश्वव्यापी अर्थतन्त्रका लागि नराम्रो खबर हो किनकी यसको अर्थ हामीसँग काम गर्ने जनसङ्ख्या कम छ भने वृद्धहरुको जनसङ्ख्या बढ्दै गएको छ जसले स्वास्थ्य खर्च बढाउँछ । २०५० सम्ममा युरोप र उत्तर अमेरिकामा मात्र चार मध्ये एकजना ६५ वर्ष वा सो भन्दा बढी उमेरका हुनेछन् ।
प्रतिक्रिया