लन्डन– इङ्ल्यान्ड एकदिवशीय विश्वकप क्रिकेटको नयाँ विजेता बनेको छ। लर्डस् क्रिकेट मैदानमा भएको १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच दुईपटक टाइ भएपछि विजेताको निर्णय खेलभर बढी बाउन्ड्रि प्रहार गरेका आधारमा लिइएको हो।
खेलमा इङ्ल्यान्डले बढी बाउन्ड्रि प्रहार गरेको थियो। निर्धारित ५० ओभरको खेल टाइ भएपछि निर्णय सुपर ओभरमा पुगेको थियो। तर सुपर ओभर पनि टाइ भएपछि खेल भर जुन टोलीले धेरै बाउन्ड्रि प्रहार गरेको थियो उसैलाई विजेता घोषणा गरिएको हो।
सुपर ओभरमा इङ्ल्यान्डले १६ रनको लक्ष्य दिएको थियो। न्युजिल्यान्डलाई अन्तिम बलमा दुई रन आवश्यक रहेपनि मार्टिन गुप्टिलले एक रनमात्र लिन सके। दोस्रो रन लिन खोज्दा रनआउट भएका थिए। त्यसअघि निर्धारित ५० ओभरको खेलमा दुई सय ४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डलाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो।
५० औँ ओभरको सुरुका दुई बलमा रन जोड्न नसकेका बेन स्टोक्सले त्यसपछि छक्का प्रहार गरेका थिए। तीन बलमा ९ रन आवश्यक रहेको अवस्थामा ५० औँ ओभरको चौथो बलमा स्टोक्सको शरिरमा लागेर ओभर थ्रो चौका भएको थियो।
त्यसपछि अन्तिम दुई बलमा ३ रन आवश्यक रहेको अवस्थामा खेल टाइ हुन पुगेको थियो। २७ वर्षपछि फाइनल पुगेको इङ्ल्यान्ड २३ वर्षपछि एकदिवशीय विश्वकपमा नयाँ विजेता बनेको हो। यसपटक इङ्ल्यान्डको यो एतिहाँसिक सफलतामा स्टोक्स नायक बने। उनले अविजित ८४ रन जोडे। सुपर ओभरमा पनि उनले एक्लैले ८ रन जोडेका थिए।
यसअघि नयाँ विजेताको रुपमा सन् १९९६ को संस्करणमा श्रीलंका च्याम्पियन बनेको थियो। विश्वकपको इतिहाँसमा अस्ट्रेलिया पाँचपटक, वेस्ट इन्डिज र भारत दुई दुईपटक तथा पाकिस्तान र श्रीलंका एकएकपटक विजेता बनेका छन्। न्युजिल्यान्ड गत विश्वकपमा पनि फाइनलसम्म पुगेको थियो।
प्रतिक्रिया