५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

क्षेत्राधिकार मिच्दै नगर प्रमुख किरण सिंह, लक्ष्मी गुप्ताद्धारा लगातार नगर सभा बहिस्कार



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह एकलौटी ढंगले अगाडी बढेका छन् । नगर उप–प्रमुख लक्ष्मी गुप्ताले यसको विरोध गर्दै आएपनि कुनै सुनुवाई हुन सकेको छैन् । आइतबार नगरपालिकाको पाचौं नगर सभामा पनि उप–प्रमुखको विरोध सतहमा आएको छ । यस अघि असार १० गते बसेको नगर सभाको नीति तथा कार्यक्रममा पनि उप–प्रमुख गुप्ताले बहिस्कार गर्नुभएको थियो । आइतबार नगर प्रमुख सिंहले एकलौटी ढंगबाट आव ०७६÷०७७ को नीति, बजेट तथा कार्यक्रम पारित गराएका छन् । संविधानले नीति, कार्यक्रम तथा बजेट नगर उप–प्रमुखले पेश गर्ने अधिकार दिएको छ । तर, कपिलवस्तु नगरपालिकामा भने उप प्रमुखको बहिस्कार हुँदा हुँदै पनि नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । पाचौं नगर सभाको दोस्रो बैठकले ८९ करोड बढीको बजेट तथा कार्यक्रम पारित गरेको हो ।
नगर प्रमुख सिंहको कार्यशैलीमाथि बेला बेला प्रश्न उठाउँदै आउनु भएकी उप–प्रमुख गुप्ताले आइतबार आफ्ना विमतीबारे जानकारी गराउनुभएको छ । मायादेवी अनलाइनको विशेष टोलिसंग कुराकानी गर्दै उप–प्रमुख गुप्ताले पाचौं नगर सभा आफुले बहिस्कार गरेको बताउनुभयो । नगर प्रमुख सिंहले आफ्नो क्षेत्राधिकार मिचेर नगर सभामा बजेट तथा कार्यक्रम ल्याएको कारण आफुले नगर सभा बहिस्कार गरेको उहाँले बताउनुभयो ।
स्थानीय सरकार संचालन ऐनको दफा ६६ र ६७ को व्यवस्था विपरित नगर प्रमुखले नगरको योजना तर्जुमा र बजेट बाडफाँड मनोमानी ढंगले गरेको पनि उहाँले आरोप लगाउनुभयो । नगर प्रमुखले कानुन र प्रकृया मिचेर एकलौटी ढंगले नगरपालिकाको गतिविधि संचालन गरिरहेको पनि उहाँले बताउनुभयो ।
नगर प्रमुखले उप–प्रमुख पद नै स्विकार गर्न नसक्दा समस्या आएको उहाँले बताउनुभयो । ‘देशमा महिला राष्ट्रपति हुनुहुन्छ म नगरपालिकाको उप प्रमुख हुँ, संविधानले मैले गर्ने कामको विशेष अधिकार दिएको छ उहाँले भन्नुभयो, तर नगर प्रमुखले आफुलाई उप–प्रमुखको हैसियत राख्नुभएन् ।’
नगरपालिकाले यस बर्ष बनाएको नारी दिवसमा पनि आफुलाई कुनै जानकारी नदिइएको भन्दै उहाँले गुनासो गर्नुभयो । ‘नारीको कार्यक्रममा म उप प्रमुख नारीलाई थाहा हुँदैन्, अर्कैलाई जिम्मेवारी दिइन्छ अब आफै भन्नुस म माथि कति ठूलो अपमान भए होला ? उहाँले पीडा व्यक्त गर्नुभयो ।
नगर प्रमुखसंग मिलेर अगाडि बढ्ने चाहना आफ्नो हुँदा हुँदै त्यो उहाँकै कारणले सम्भव नभएको पनि उहाँले बताउनुभयो । ‘पटक पटक आ–आफ्नो क्षेत्राधिकार प्रयोग गरेर अगाडि बढौं भनेर नगर प्रमुखलाई भन्दा पनि उहाँले म यहाँ छु त तपाईको के काम भनेर प्रश्न गर्ने गरेको उहाँले बताउनुभयो । नगरपालिकाबाट सञ्चालित सामान्य योजनाको बारेमा मलाई कुनै जानकारी हुँदैन् ।’ उहाँले भन्नुभयो ।
तेस्रो नगर सभामा उप–प्रमुखका लागि गाडी किन्न भनेर छुट्टाएको २५ लाखको हिसाब किताव पनि अहिलेसम्म आफुलाई थाहा नभएको उहाँले बताउनुभयो । ‘मेरा लागि गाडी किन्न भनेर २५ लाख छुट्टाइएको थियो तर मैले गाडी किन्दिन बरु एम्बुलेन्स किन्छु भनेर भनेकी थिए उहाँले भन्नुभयो, अहिलेसम्म त्यो रकम कहाँ छ मलाई कुनै जानकारी छैन् ।’
नगर प्रमुखले आफ्नो गाडी चलाउने ड्राइभरलाई एकलौटी ढंगले हटाएको प्रति पनि उहाँले आक्रोस व्यक्त गर्नुभयो । नगरपालिकाबाट आफ्नो गाडि चलाउनका लागि ड्राइभर दिने भनेर निर्णय भएपनि अहिले आएर व्यक्तिगत रिसका कारण ड्राइभरलाई पनि हटाएको उहाँको भनाई छ ।

प्रकाशित मिति : २९ असार २०७६ आइतबार ००:००  ७ : २८ बजे