काठमाडौँ ।
अबिरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । विभिन्न जिल्लामा हालसम्म ५० जनाको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । २५ जना घाइत रहेका छन् भने ३३ जना बेपत्ताको खोजी भरहेको जनाइएको छ । हालसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १ मा १७, प्रदेश २ मा सात, प्रदेश ३ मा १२, प्रदेश ५ र ६ मा दुईदुई र काठमाडौंमा उपत्यकाको दुई जिल्लामा आठ गरी ४८ जनाको मृत्यु भएको हो । उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् । प्रदेश १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एकएक जनाको ज्यान गएको छ । प्रदेश २ अन्तर्गत धनुषा र बारामा दुईदुई तथा पर्सा, रौतहट, सिरहामा एकएक गरी सात जनाको मृत्यु भएको छ । प्रदेश ३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीनतीन, सिन्धुली र धादिङमा दुई दुई तथा रामेछाप र चितवनमा एकएक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै प्रदेश ५ को पाल्पा र दाङमा एकएक तथा प्रदेश ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ । बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एकएक जना, प्रदेश १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एकएक तथा मोरङ र इलाममा तीनतीन जना छन् । प्रदेश २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एकएक जना बेपत्ता छन् । प्रदेश ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन् । यस्तै प्रदेश ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश १ मा आठ, प्रदेश ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश १ बाट १२ जना, प्रदेश २ बाट ८२७ जना, प्रदेश ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
२९ असार २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया