९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बुद्धभूमि नगरपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आव २०७६/०७७ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार नगरको वडा नं. २ गोरुसिंगेमा बसेको नगरसभाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । गत असार ८ गते पाचौं नगरसभामा सर्वसम्मत रुपमा पारित भएको नीति तथा कार्यक्रम अनुसार नगरपालिकाले आइतबार बहुमतले बजेट तथा कार्यक्रम पारित गरेको हो ।
नगर सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम बहुमतले पारित भयो । सभामा नगर प्रमुख श्रेष्ठले आव २०७६÷०७७ का लागि तय भएका कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । सभा सकिए लगत्तै भएको नगर प्रमुख श्रेष्ठले बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नगर प्रमुख श्रेष्ठले बजेटमा विपन्नता बर्ग, भूगोललाई प्राथमिकता दिइएको बताउनुभयो । ‘एक गाउँ एक पोखरी’ जस्ता कार्यक्रम यसपालिको बजेटमा ल्याइएको उहाँले बताउनुभयो । बजेटले सबै क्षेत्रलाई समेट्ने कोशिस गर्दा गर्दै कतिपय विषय छुट्न गएपनि त्यसलाई सम्बोधन गरिने उहाँले बताउनुभयो । नगरपालिकाले ल्याएको बजेट महत्वाकांक्षी नभएको भन्दै सुन्दा सामान्य लागेपनि नगरबासीको जीवनमा मेल खाने गरी कार्यक्रम परेको पनि उहाँले जानकारी दिनुभयो ।
सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बजेटले पुगेसम्म सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । नगरबासीको अपेक्षा धेरै रहेपनि बजेट कम हुने हुँदा सबै अपेक्षा पुरा हुन नसके पनि सबैलाई समेट्ने गरी बजेट आएको बताउनुभयो । बजेट कार्यान्वयनमा नगरपालिका चनाखो हुँदै आएको भन्दै यो बजेटको पनि अक्षरक्ष कार्यान्वयन हुने उहाँले बताउनुभयो ।
बुद्धभूमि नगरपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि पर्यटन लगायतको क्षेत्रलाई प्राथमिकता दिएको छ । १० वडा रहेको नगरमा ६५÷६५ लाखको वडा स्तरीय बजेट दिइएको छ । समग्र बजेटको ६२.७ प्रतिशत बजेट भौतिक पूर्वाधार तर्फ छुट्टाइएको छ ।
जसमा नगर स्तरीय बहुबर्षिय ठूला पूर्वाधार सडक, नगर स्तरीय मझौला पूर्वाधार सडक, नगर स्तरीय साना पूर्वाधार सडक प्राथमिकतामा राखिएको छ भने सिंचाईलाई पनि विशेष जोड दिइएको छ । नगरपालिकाले आव २०७६÷०७७ मा निर्शत र शर्शत गरी ८६ करोड ६६ लाख बराबरको बजेट ल्याएको छ ।

प्रकाशित मिति : २९ असार २०७६ आइतबार ००:००  ६ : २९ बजे