मायादेवी अनलाइन, चन्द्रौटा ।
गाउँमा पहिलो पटक बिजुली बलेपछि शिवराज नगरपालिका–१, बनकसबासाका बासिन्दा अहिले दङ्ग छन् । पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा वि.सं. २०२८ सालमा बसेको सुकुम्बासी बस्तीमा पहिलो पटक उज्यालो पुगेपछि स्थानीयमा खुशियाली छाएको हो ।
निकै सुगम स्थानमा बस्ती रहेपनि सुकुम्बासी भएकै कारण हालसम्म बिजुलीबत्ती नपुगेर स्थानीय अन्धकारमा बस्न बाध्य थिए । शिवराज नगरपालिका वडा नं. १ को विशेष पहल र नेपाल विद्युत प्राधिकरण कृष्णनगरको सक्रियतामा पहिलो पटक बिजुली बाल्न सफल भएको स्थानीय सुनिल घिमिरेले खुशी व्यक्त गर्दै भने । गाउँमा विजुली नहुँदा निकै सास्ती झेल्नुपरेको दर्शाउँदै अब त धेरै राहत पुग्ने स्थानीय पप्पु राईले विश्वास व्यक्त गरे । “गाउँमा बिजुलीबत्ती आएपछि उज्यालोमा पढ्ने पाइने भयो” –विद्यार्थी हिमाल राईले खुशी व्यक्त गरे । गाउँमा विजुलीबत्ती बलेसँगै बालबालिकाले उज्यालोमा पढ्न पाएपछि निकै हर्षित छन् । त्यतिमात्र होइन, गृहिणीहरुले समेत विजुलीबत्तीको उज्यालोमा बसेर भान्साको काम गर्न पाएपछि खुशीले गदगद बनेका छन् । गाउँमा विजुलीबत्ती बलेसँगै हरेक किसिमको काममा सुविधा हुने स्थानीयको दाबी छ । गरे के हुँदैन र ? सामुहिक प्रयासले गाउँघरमा बिजुलीबत्ती ल्याउन सफल भएपछि स्थानीइमा अहिले आशाका किरण जागेको छ । बिजुलीबत्ती बलेसँगै उनीहरुमा अझ केही गरुँ भन्ने उर्जा थपिएको छ ।
प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले एक कार्यक्रमका बीच बल्ब बालेर बिद्युतसेवाको उद्घाटन गरे । विजुलीबत्तीले बस्तीमा उज्यालो भविष्य देखाउने के.सी.ले विश्वास व्यक्त गरे । स्थानीयले आयआर्जनको प्रमुख स्रोतकेन्द्र बनाउनुपर्ने सुझाव दिए । बनकसबासामा अब कुटिर उद्योग, डोरी उद्योग, होटल व्यवसाय, वनसँग सम्बन्धित विभिन्न किसिमका साना उद्योग संचालन गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै सुन्दर, सफा हराभरा गन्तव्यको रुपमा अगाडि बढाउन स्थानीयलाई सांसद के.सी.ले आग्रह गरे ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरपालिकाको अथक प्रयासले बनकसबासामा बिजुलीबत्ती पुगेकोमा खुशी व्यक्त गरे । २०५४ सालमा तत्कालिन गाविस अध्यक्ष भएको बेला आफूले विद्यालय, खानेपानीको लागि सहयोग जुटाएर व्यवस्था गरेको स्मरण गरे । विद्युत्त प्राधिकरणको सक्रियता र गाउँवासीको आसा अनुसार काम भई गाउँमा विद्युत्त विस्तार गरेको अधिकारीले बताए । बनकसबासाका बासिन्दाहरु अब आयआर्जनका विभिन्न विकल्पतर्फ लाग्नुपर्ने सुझाव दिए । बनकसबासा सबैको नजरमा परेकाले अब त्यस ठाउँलाई नमूना पर्यटकीय गन्तव्य स्थलको रुपमा अगाडि बढाउन स्थानीय कस्सिनुपर्नेमा नगरप्रमुख अधिकारीले जोड दिए ।
“गाउँमा विद्युत्त आयो अब जीवन यापन सहज हुन्छ” –वडा अध्यक्ष जगत बहादुर जिसीले भने । लामो प्रयास पछि गाउँमा विद्युत्त सेवा विस्तार भएकोमा जि.सीले विद्युत्त प्राधिकरणलाई धन्यवाद व्यक्त गरे । विद्युत्तको पहुँचबाट टाढा हुँदा धेरै कुराबाट पछाडि परेकोमा अब गाउँमा नै विभिन्न साना उद्योगहरु संचालन गरी जीविकोपार्जन सहज बनाउन उनले अनुरोध गरे ।
शिवराज नगरपालिकको समपुरक बजेटको १० लाख र विद्युत्त प्राधिकरणको ४५ लाख लागतमा सोही गाउँमा विद्युत्त सेवा विस्तार गरिएको नेपाल विद्युत प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मीकेशर अगन्जाले बताए । “गाउँमा ७२ घर परिवार रहेको र हाल ६ घरमा मात्रै मिटर जडान भएको छ । बाँकी घरहरुमा पनि छिट्टै मिटर जडान हुन्छ” –वितरण केन्द्रका प्रमुख अगन्जाले भने ।
राजमार्गको छेउको बस्ती र सामुदायिक वन हुँदै विद्युत्त विस्तार गर्नुपर्ने भएकोले विद्युत्त विस्तारमा केही समय लागेको उनले बताए । शिवराज नगरपालिकाको पहल र वडा अध्यक्षको सक्रियतामा गाउँमा विद्युत्त विस्तार गर्न सहज भएको उनले बताए । वनकसबासा गाउँमा विद्युत्त पुगे संगै कपिलवस्तुको सवै गाउँमा विद्युत्त पहुँच पुगेको प्रमुख अगन्जाले बताए ।
वन र राजमार्गको छेउको वस्ती भएकाले अब विद्युत्त विस्तारसँगै रोजगार व्यवसायका लागि नयाँ ढोकाहरु खुलेको विद्युत उपभोक्ता समितिका संयोजक सुनिल घिमिरेले बताए । गाउँमा धेरै मान्छे कमाउन बाहिर जाने भएकाले महिलाहरुलाई सीप सिकाई उद्यमी बनाउनेतर्फ उनले नगर प्रमुख र वडा अध्यक्ष ध्यानाकर्षण गराए ।
वनकसबासा गाउँमा प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.सहित नगर प्रमुख नेत्रराज अधिकारी, वडा अध्यक्ष जगत जि.सी. र विद्युत्त प्राधिकरण कृष्णनगर प्रमुख लक्ष्मी केसर अगन्जाले विद्युत्त चिम बालेर उद्घाटन गरेका थिए ।
प्रतिक्रिया