लण्डन ।
क्रिकेटको मक्का मानिने ऐतिहासिक लर्डस मैदानले आइतबार क्रिकेटको एक नयाँ विश्व च्याम्पियन दिनेछ । नयाँ विश्व च्याम्पियन बन्न इंग्ल्याण्ड र न्यूजिल्याण्ड आइसिसी विश्वकप २०१९ को फाइनलमा भिड्नेछन् ।
इंग्ल्याण्ड २७ वर्षपछि फाइनलमा पुगेको हो । उसको यो चौथो फाइनल हो । यसअघि तीनपटक फाइनल खेलेपछि इंग्ल्याण्डले उपाधि भने जित्न सकेको थिएन् । यसपटक आयोजकका नाताले उसलाई उपाधि दाबेदार मानिएको छ । सेमिफाइनलमा साविकको विजेता अष्ट्रेलियामाथि ८ विकेटको सानदार जित निकाल्दै इंग्ल्याण्ड फाइनलमा पुगेको हो ।
न्यूजिल्याण्डले उपाधिको मुख्य दाबेदार मानिएको भारतलाई रोमाञ्चक पहिलो सेमिफाइनलमा १८ रनले पराजित गर्दै दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०१५ को विश्वकपमा छिमेकी देश अष्ट्रेलियासँग पराजित हुँदै न्यूजिल्याण्ड उपाधिबाट टाढिएको थियो ।
विश्वकपमा न्यूजिल्याण्ड र इंग्ल्याण्ड अहिलेसम्म ९ खेलमा भिडेका छन् । जसमा ५ खेल न्यूजिल्याण्डले र ४ खेल इंग्ल्याण्डले जितेको छ । लर्डस मैदानमा पाँचौपटक विश्वकपको फाइनल हुन लागेको हो । तर, इंग्ल्याण्ड र न्यूजिल्याण्ड पहिलोपटक विश्वकपको फाइनलमा आमने सामने हुँदैछन् ।
लर्डस मैदानमा अहिलेसम्म इंग्ल्याण्डले न्यूजिल्याण्डलाई पराजित गर्न सकेको छैन् । लर्डस मैदानमा अहिलेसम्म यी दुई टोलीहरु दुई पटक भिडेका छन् र दुबैपटक घरेलु टोली इंग्ल्याण्डलाई न्यूजिल्याण्डले स्तब्ध पारेको छ ।
इयोन मोर्गनको कप्तानीमा रहेको इंग्ल्याण्ड लिग चरणमा श्रीलंका र अष्ट्रेलियालाई पराजित गरेपछि पूरै परिवर्तन भयो । इंग्ल्याण्डका सुरुका तीन ब्याट्सम्यानहरु अहिलेसम्म म्याच विजेताका रुपमा देखिएका छन् । शीर्ष तीन ब्याट्सम्यानले टिमका लागि १४७१ रन बनाएका छन् ।
अनुभवी जोव रुट शानदार लयमा छन् । उनले यस विश्वकपमा ५४९ रन प्रहार गरिसकेका छन् । एकदिवसीय अन्तर्रा्ष्ट्रियमा न्यूजिल्याण्डविरुद्ध रुटले ९२५ रन बनाएका छन् ।
तीव्र गतिका बलर क्रिस वोक्स र जोफ्रा आर्चरले इंग्ल्याण्डको बलिङको नेतृत्व गरेका छन् । आयोजकका नाताले घरेलु भुमीको फाइदा समेत इंग्ल्याण्डलाई छ ।
तर, न्यूजिल्याण्डले भारतलाई हराउँदै अनिश्चितताको यस खेलमा जे पनि हुन सक्ने देखाइसकेको छ । ओपनर जोडी निरन्तर फ्लप हुँदा न्यूजिल्याण्डको जिम्मेवारी कप्तान केन विलियम्सन र रोज टेलरले उठाउँदै आएका छन् ।
विलियम्सनले ९ खेलमा अहिलेसम्म ५४८ रन बनाइसकेका छन्। टेलरले यति नै खेलमा ३३५ रन बनाएका छन् । अघिल्लो विश्वकपमा सर्वा्धिक रन बनाउँने खेलाडी मार्टिन गुप्टिलले भने न्यूजिल्याण्डलाई यसपटक निराश बनाएका छन् ।
गुप्टिल आफ्नो खराब लयबाट निस्कदै फाइनलमा यादगार पारी खेल्न आवश्यक छ । ताकि उनको टोलीले पहिलोपटक विश्वकप जित्न सकोस् । न्यूजिल्याण्डको बलिङ मजबुद देखिएको छ । लक्की फर्गुन्सन(१८विकेट) र म्याट हेनरी(१३)सँगै ट्रेन्ट बोल्ट(१७ विकेट) सानदार बलिङ गरिरहेका छन् ।
पछिल्लो लय, लिग चरणको प्रदर्शन र घरेलु मैदान हुनुका कारणले फाइनलमा इंग्ल्याण्डको पल्ला भारी देखिन्छ तर ठूलो खेलमा एकजुट भएर खेल्ने न्यूजिल्याण्डलाई हल्का रुपमा लिनु भुल हुन्छ । त्यसैकारण इंग्ल्याण्डलाई फाइनलमा न्यूजिल्याण्डले कडा टक्कर दिने निश्चित छ ।
प्रतिक्रिया