१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

बर्थ डे मनाउने फरक शैली



मायादेवी अनलाइन, भैरहवा ।
जन्मदिन अर्थात बर्थ डे मनाउने चलन नेपालमा त्यति पुरानो नभएता पनि आजकल अत्यन्तै चल्तीमा रहेको छ । पश्चिमा मुलुकबाट नेपाल भित्रीएको बर्थ डे खासगरीकन बालबालिका, किशोर किशोरी, युवा पुस्ता हुदैं बृद्धा बृद्धा सम्म पुगेको छ । तर बर्थ डे मनाउने शैली भने फरक फरकका छन् । अधिकांशले बर्थ डे को अवसरमा होटल तथा रेष्टुरेन्टमा ठूला ठूला पार्टीको आयोजना गर्दछन् । नाचगान गर्दछन् । त कयौंले सामाजिक क्षेत्रमा योगदान दिने गरेका छन् ।
यसैबीच रुपन्देहीमा एक शिक्षिकाले आफ्नो बर्थ डे अस्पतालमा मनाएकी छन् । ओमसतिया गाउँपालिकामा रहेको श्रीराम जानकी आधरभूत विद्यालयको सहायक प्राचार्य तिर्था अर्यालले आफ्नो जन्मदिन विरामीहरुसंग मनाएकी हुन् ।
शुक्रबार २९ औं जन्मदिन मनाउने क्रममा उनले भैरहवाको भिम अस्पतालमा रहेका ५५ जना विरामीलाई फलफुल बितरण तथा विरामीको कुरुवा, चिकित्सक र अन्य कर्मचारीलाई केक खुवाएर मनाएकी हुन् ।
बुबा नन्दराम अर्याल र आमा रेनुका अर्यालको सुपुत्रीको रुपमा सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरमा जन्मिएकी उनको झापाका सनत कुमार ओलीसंग बैबाहिक सम्बन्ध कायम भएको छ । शिक्षण पेशामा आबद्ध उनले विदाको समय पनि सामाजिक सेवामा क्रियाशील भएर बिताउने गरेको अर्यालको साथी सरोज ठकुरीले बताए ।
जन्मदिनको अवसरमा अस्पताल परिसरमा उनलाई शुभकामना दिदैं अस्पतालका इमरजेन्सी विभाग प्रमुख गोपाल उपाध्ययले अस्पतालमा रहेका विरामीको लागि फलफुल बितरण कार्य अत्यन्तै प्रशसंनीय भएको बताए । उनले भने, ‘नया पुस्ता रेष्टुरेन्ट र होटलहरुमा रमाईरहेको बेला अर्यालको कार्य उदाहरणीय देखियो । सबैले यसलाई अनुकरण गरेमा विपन्न परिवारका विरामी जो सरकारी अस्पतालमा उपचार गराउँछन तीनलाई ठूलो राहत मिल्न सक्छ । ’
सो अवसरमा सिद्धार्थनगरपालिका वडा नं १२ का सदस्य सरोज ठकुरीले नयां पुस्तालाई सामाजिक सेवामा सक्रिय बनाउनुपर्ने अभियान जरुरी रहेको बताए । उनले भने, ‘नयां पुस्ता सामाजिक सेवाबाट टाढिरहेको अवस्थामा शिक्षीकाले गरेको कार्य प्रशंसनीय छ । ’ अर्यालले विगतमा पनि बृद्धाश्रममा सहयोग दिने गरेको बताईन् । उनले यसअघि जनता आधारभूत विद्यालय विद्यार्थीहरुलाई टिफीन बक्स सहयोग गरेकी थिईन् ।
अस्पतालका विरामीलाई फलफुल बितरण गर्दा अत्यन्तै मन हर्षित भएको अर्यालले बताईन । उनले भनिन, ‘साथीहरुसंगै विरामीहरुसंग भलाकुसरी गर्दै थोरै भएपनि सहयोग गर्न पाउदाको क्षण स्मरणीय रह्यो । ’

प्रकाशित मिति : २८ असार २०७६ शनिबार ००:००  ६ : १५ बजे