१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

अझै तीन दिन भारी बर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं ।
मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको हो ।
आज बिहानैदेखि मुलुकभर लगातारको मनसुनी वर्षा भइरहेको छ । खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ ।
पूर्वी र मध्यमा एक÷दुई दिन भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार पूर्वी र मध्य क्षेत्रमा समग्र मनसुनी वर्षा भने कम हुनेछ । देशका पश्चिमी भेगमा समग्र मनसुनी वर्षा बढी हुने अनुमान गरिएको छ ।
देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोर स्थानमा धेरै भारी वर्षासमेत हुने विभागले बुलेटिनमा उल्लेख गरेको छ ।
त्यसैगरी भोलि शनिबार पनि देशको पूूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा अति भारी वर्षासमेत हुनेछ । देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आगामी २९ गते आइतबार पनि खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा धेरै भारी वर्षासमेत हुने जनाइएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले उच्च सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७६ शुक्रबार ००:००  १० : १७ बजे