१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

सिद्धारामा दशैसम्म विजुली बत्ती बल्ला ? दिनगन्ती भए सुरु



गणेश बेल्वासे संगम, अर्घाखाँची ।
वर्षौको पखाईपछि अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ र १० का टोलहरुमा दशैंसम्ममा बिजुली बत्ती बल्ने भएको छ । सो कार्यका लागि शितगंगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रमबाट विद्युतको काम सुरु भई दसैंसम्ममा काम सम्पन्न गर्ने गरी उक्त क्षेत्रका अभियानकर्मी सिद्धाराबासीहरु सँग शुक्रबार सहमति भएको छ ।
विद्युत् लाइन विस्तारको काम द्रुतगतिमा अगाडी बढाइने भएको हो । दुई वर्ष अघि नै सम्पन्न गरी सक्नुपर्ने विद्युत विस्तारको काम विभिन्न प्राविधिक कारणले ढिलाइ भएको जिल्ला विद्युत प्राधिकरण अर्घाखाँचीले जनाएको छ ।
बागखोर, लिसिकुना, उपल्लो सिद्धारा, तल्लो सिद्धारा लगायतका स्थानहरुमा विद्युत विस्तारका लागि आवश्यक पर्ने करिब पाँच लाख रकम आगामी आर्थिक वर्षमा शितगंगा नगरपालिकाको आर्थिक सहयोगबाट दसैंसम्ममा काम सम्पन्न गर्ने गरी उक्त क्षेत्रका अभियानकर्मी सिद्धाराबासीहरुसँग शुक्रबार सहमति भएको हो ।
शितगंगा नगरपालिका र विद्युत प्राधिकरण शाखा कार्यलय अर्घाखाँची बीचको समन्वयमा विद्युत् विस्तारको काम दु्रतगतिमा अघि बढाइने प्राधिकरण प्रमुख विरमान रास्कोटीले बताए ।
शितगंगा नगरपालिका वडा नं. ९ र १० क्षेत्रका नागरिकको घरघरमा बिजुलीबत्ती पुर्याउन विद्युत विस्तारको कामलाई तीव्र दिईने बताइएको छ । लामो समयदेखिको पर्खाइको नतिजा आउने बेला भएको भन्दै सिद्धाराबासी खुसी हुँदै भने, “अब सिद्धारावासीको घरघरमा बिजुली बत्ती बल्ने दिन गन्न शुरु गर्दा हुन्छ ।”


ध्यानाकर्षण गराउने उद्देश्यले संचालन गरिएको उक्त अभियानलाई सफल बनाउन प्रत्यक्ष रुपमा सहजिकरण गर्नुहुने जिल्ला समन्वय समितिका उप प्रमुख ऋषि बहादुर पुलामी, विद्युत प्राधिकरण शाखा कार्यलय अर्घाखाँचीका प्रमुख विरमान रास्कोटी, शितगंगा नगरपालिकाका प्रमुख सूर्य प्रसाद अधिकारी, उप–प्रमुख टीका बहादुर रेश्मी, प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारी, वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर केसी, विभिन्न संचार माध्यममा आबद्ध पत्रकार लगाएत अभियानलाई साथ दिएर सहयोग गर्ने सम्पूर्ण सहयात्रीहरुलाई अभियान सह–संयोजक गोविन्द रसायलीले धन्यवाद व्यक्त गरेका छ्न् ।

प्रकाशित मिति : २७ असार २०७६ शुक्रबार ००:००  ६ : ४२ बजे