मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा शुक्रबार देखि राष्ट्रिय परिचय पत्र वितरण सुरु भएको छ । पाँचथरवाट सुरु भएको पहिलो चरणको अभियान दोस्रो चरण अन्तर्रगत कपिलवस्तुमा पनि सुरु भएको हो ।
शुक्रबार कपिलवस्तुसंगै गुल्मी, स्याङजा, सल्यान, जुम्ला, कञ्चनपुर, झापा, संखुवासभा, महोत्तरी, सप्तरी, ललितपुर, रसुवा, चीतवन, तनहुँ र अछाम गरी १५ जिल्लामा परिचय पत्र वितरण सुरु भएको छ ।
तौलिहवामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायण खनालले पहिलो परिचय पत्र लिनुभयो । परिचय पत्र लिएपछि सभापति खनालले बोल्दै आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकको विकास हुने बताउनुभयो । जनताले विकास, सुशासन, समृद्धि र स्थायित्व चाहेकाले जनचाहना पूरा गर्न पनि राष्ट्रिय परिचयपत्रको ठूलो महत्व हुने उहाँले बताउनुभयो ।
सोही क्रममा बोल्दै जिल्ला समन्वय समितिकी उप-सभापति तारावती चौधरी र कपिलबस्तु नगरपालिकाकी उप-प्रमुख लक्ष्मी गुप्ताले कपिलबस्तुबाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु हुनु जिल्लाका लागि गर्वको विषय रहेको बताउनु भयो ।
परिचय पत्र दिने कार्य निरन्तर रुपमा जिल्ला प्रशासनबाट शुरु भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनु भएको छ । प्रशासन कार्यालयबाट दिने नागरिकता पनि राष्ट्रिय परिचय पत्रमा अभिलेख राखिने उहाँले बताउनु भयो । केही दिनमा हामी गाँउ गाँउमा गएर फिल्ड भिजिट गरेर परिचय पत्र वितरण गर्ने प्रजिअ श्रेष्ठले बताउनु भयो ।
राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवा लगायत सबै सेवाको अभिलेख समावेश गरिएको गरिने व्यवस्था छ ।
२७ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया