काठमाडौं ।
घरघरमा तुलसी सारेर शुक्रबार हरिशयनी एकादशी मनाइँदै छ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी) मा छरिएको तुलसीको बीउ तयार भई यसैदिन रोप्नुपर्ने मान्यता छ । यो एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ । वैष्णव धर्मअनुसार यो दिनदेखि चतुर्मास आरम्भ हुन्छ । पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्छन् ।
यो अवधि चार महिनाको हुने भएकोले चतुर्मास भनिएको हो । धार्मिक एवं ज्योतिषीय मान्यताका आधारमा चतुर्मासभर विवाह, व्रतबन्ध, प्रतिष्ठा, जस्ता मांगलिक कार्य गर्नु हुँदैन । यो अवधिभर तुलसीको पूजा गर्ने भागवत आदि विष्णु माहत्म्यका ग्रन्थहरू पाठ गर्ने परम्परा छ । यद्यपि सूर्य दक्षिणायान रहँदा सामान्यतया मांगलिक कार्य गरिँदैनन् ।
यसरी आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णु वा उनको प्रियाको रूपमा पूजा गर्ने परम्परा छ । चतुर्मासभर पूजा गरिने तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पति हो भने यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ । चतुर्मासको समाप्ति कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा हुन्छ ।
२७ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया