मायादेवी अनलाइन, कपिलवस्तु ।
क्रिकेट खेलको जन्मदाता इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियामाथि ८ विकेटको सनसनीपूर्ण जित निकाल्दै इङ्ल्यान्ड फाइनलमा पुगेको हो । एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अहिले सम्म जित्न नसकेको इङ्ल्यान्ड २७ बर्ष पछि पुनः फाइनल खेल्न लागेको छ । सन् १९९२ मा पाकिस्तानसंग फाइनलमा पराजित हुन पुगेको इङ्ल्यान्ड सन् १९८७ मा अस्ट्रेलियासंग फाइनलमा पराजित भएको थियो । लगातार दुई पटक विश्वकपको फाइनलमा पुगेर उपाधि विमुख भएको इङ्ल्यान्ड सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । लामो प्रतिज्ञा पछि फाइलनमा स्थान बनाएका आयोजक राष्ट्र समेत रहेको इङ्ल्यान्डले फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको छ । साविक उपवेजता समेत रहेको न्युजिल्यान्डले पनि अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन् ।
१४ तारिखमा लर्डसमा हुने फाइनल खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्ने भएका छन् । एड्बेस्टोनमा अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाउँदै २२६ रन पूरा र्गयो ।
इङ्ल्यान्डका लागि जेसन रोय अर्धशतकीय पारी खेले । ६५ बल खेलेका रोयले ९ चौका र ५ छक्काको सहयोगमा ८५ रन बनाए । त्यस्तै इङ्ल्यान्डका र जोए रुटले ४९ रन जोड्दा इयान मोर्गान ४५ र जोन्नी बेयरिस्टो ३४ रनको योगदान गरे । बलिङतर्फ अस्ट्रेलियाका लागि मिचल स्टार्क र प्याट कमिन्सले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै मात्र २२३ बनाएको थियो । अस्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वा्धिक ८५ रन बनाए । १ सय १९ बल ६ चौका प्रहार गरेका स्मिथ रनआउट भए । मिचेल स्टार्कले २९ रनको योगदान दिए । ३६ बल खेल्दै १ चौका र छक्का प्रहार गरेका स्टार्क वोक्सको बलमा बटलरमार्फत क्याच भएका थिए ।
एलेक्स केरीले ४६ रनको योगदान गरे । अर्धशतक बनाउन ४ रनले चुकेका केरीले ४ चौका प्रहार गर्दै आदिल रासिदको बलमा क्याच भए । ग्लेन म्याक्सवेलले २२ रन बनाए । २३ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । म्याक्सवेल जोफ्रा आर्चरको बलमा इयोन मोर्गनमार्फत क्याच भए । ओपनर डेबिड वार्नर ९ रनमा क्रिस वोक्सको बलमा बेरियस्टोमार्फत क्याच हुँदा प्याट कुमिन्स ६ रन तथा पिटर हेन्ड्कोम्ब ४ रनमा पवेलियन फर्किएका थिए ।
कुमिन्स रासिदको बलमा रुटमार्फत क्याच हुँदा पिटर बोल्ड भएका थिए । कप्तान एरोन फिन्च र मार्कुस स्टानिसले खाता नै खोल्न सकेनन् । कप्तान फिन्च बोल्ड हुँदा मार्कुस एलबिडब्लु धरापमा परेका थिए ।
नाथन लियोनले ५ रन बनाए । जेसन बेरेनड्रफ १ रनमा पबेलियन फर्किए । इङल्यान्डका क्रिस वोक्स र आदिल रासिदले समान तीन–तीन विकेट लिए । जोफ्रा आर्चरले एक विकेट लिँदा मार्क वुडले एक विकेट लिए ।
२६ असार २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया