१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

देशभर ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन मौसमविदको आग्रह



काठमाडौं ।
अबको तीन दिन देशका धेरै ठाउँमा वर्षासँगै बाढी पहिरोको जोखिम रहेको मौसमविदले बताएका छन् । बुधबारजस्तै बिहीबार पनि बिहानैदेखि वर्षा भैरहेको छ । खासगरी चुरे क्षेत्रबाट बहने नदीनालामा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार बेलुकीपछि पूर्वका कन्काई, सप्तकोशी, तमोर, दुधकोशी, सुनकोशी र कमला नदीमा बहाव उच्च हुने सम्भावना छ । पहिरोग्रस्त पहाडी क्षेत्र भएर बहने ससाना खोलामा पहिरो लेदो खस्न सक्ने पनि महाशाखाले जनाएको छ ।
तराईका होचा ठाउँहरुमा डुबानको सम्भावना भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । भोलि शुक्रबार र पर्सि शनिबार पनि पूर्व र मध्य क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । खोलानाला र पहिरोग्रस्त क्षेत्रमा उच्च सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले अबको चौबीस घण्टामा केही ठाउँमा भारी वर्षाको सम्भावना भएकाले हवाई तथा सडक यातायात अवरुद्ध हुन सक्ने जनाएको छ । महाशाखाले देशभर मनसुनी वर्षा कायम रहने हुँदा बाढी, पहिरोसँगै सडक र हवाई यातायात अवरुद्ध हुन सक्ने जनाएको हो ।

प्रकाशित मिति : २६ असार २०७६ बिहिबार ००:००  १२ : २४ बजे