मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको कृष्णनगर निवासी अभिनेता श्याम कुमार मिश्र अब नेपाली तीज गीतमा देखिने भएका छन् ।
अभिनय र गायनमा पहिचान बनाइसकेका मिश्र अब तीज गीत ‘हे बुढा’ भिडियोको पर्दामा देखिने भएका हुन् । चलचित्रको पर्दामा मात्र देखिंदै आएका अभिनेता मिश्र पहिलो पटक तीज गीतको म्यूजिक भिडियोमा देखिन लागेका छन् । गीतमा राजेन्द्र बजगाईं र पार्वती तिमल्सिनाको आवाज रहेको छ । गीतमार्फत तीजलाई भड्किलो नबनाउन सन्देश दिन खोजेकाले आफूले अभिनय गरेको मिश्र बताउँछन् । गीतमा ब्यङ्ग्यात्मक कमेडी हुनुका साथै हुनेखाने छरछिमेकको भड्किलोे देखासिकीले एउटी श्रीमतीले आफ्नो बुढासँग गुनासो गरेको देखाइएको छ । गीतमा मिश्रसहित सुशिला निरौला, प्रकाश कँडेल, पार्वती तिमल्सिना लगायतका कलाकारहरुको अभिनय छ ।
आधा दर्जन बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका गायक श्याम भोजपुरी गीतका गायकको रुपमा चिनिन्छन् । मिश्रले केही समय पहिले भोजपुरी गीति संग्रह सार्वजनिक गरिसकेका छन् । गीति संग्रहमा सातवटा पप, आधुनिक गीत समावेश रहने उनले बताएका छन् । श्याम मिश्रले नेपाली चलचित्र ‘ब्वाईफ्रेण्ड’ मा गाएको भोजपुरी गीतले निकै प्रशंसा पाएको थियो । अभिनेता मिश्रले आफूले गाएको सातवटै नेपाली गीतको म्युजिक भिडियो निर्माण गर्ने सोंच बनाएको बताए ।
जिल्लाको कृष्णनगर निवासी मिश्र गायन र अभिनयमा मात्र होइन, सामाजिक क्षेत्रमा समेत पहिचान बनाउन सफल भएका छन् । शिक्षा, स्वास्थ्य लगायतका सामाजिक कार्यमा उनले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । कसैलाई आपत विपद पर्दा पनि सहयोगमा मिश्र सधैं अग्रसर हुन्छन् ।
२५ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया