१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

पाल्पामा देखियो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी



रामपुर । 

पाल्पामा प्रधानमन्त्री स्वरोगार कार्यक्रम प्रभावकारी देखिएको छ । कार्यक्रमबाट रोजगारी पाएका नागरिकले छोटो समयका लागि भए पनि जागिर पाएको बताएका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी रैनादेवी छहरा गाउँपालिकाका ३२० महिला तथा पुरुषले रोजगार पाएका छन् । तानसेन नगरपालिका र रामपुर नगरपालिकासँगै अन्य आठ गाउँपालिकामा रोजगारी सिर्जना गरिएको छ । विदेश गएर फर्केका, एकल महिला तथा अन्य नागरिकले पनि रोजगार पाएका छन् ।

अन्य पेशा तथा व्यवसाय गर्न सीप नभएको र यसका लागि भने खासै सीप नभए पनि सजिलो भएको रोजगारी गर्दै आएकाहरूको भनाइ छ । दिनभरि खाली बस्दै आउनु परेको र पैसा हातमा नभएका बेला सरकारले एक महीनाका लागि भए पनि जागिरको व्यवस्था मिलाइ दिएकामा खुशी लागेको तानसेनका यमकुमारी रानाले बताए । रामपुर नगरपालिकामा ७०, तानसेन नगरपालिकामा १८५, बगनासकाली गाउँपालिकामा ७२, र रम्भा गाउँपालिकामा १२९ महिला तथा विदेशबाट फर्केका युवालाई प्राथमिकता दिएर रोजगार दिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

भ्रवनोट उकालो ओरालो डाँडा तथा समथर भूभाग रहेको रम्भामा बाटोको पहिरो हटाउने मोड काट्नेलगायत मर्मतका काम गरेको उनको भनाइ छ । यस्तै रिब्दीकोटमा ११०, पूर्वखोलामा १७५ तिनाउमा २५०, निस्दीमा ९८, माथागढीमा १७२ र रैनादेवी छहरा गाउँपालिकामा ३२० बेरोजगारले रोजगार पाएका छन् । बेरोजगार बसेका युवा रोजगार हुने र पाखा खाली जग्गामा टिमुर लगाउने योजना रहेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताए ।

पाल्पाकै तिनाउ गाउँपालिकाको वडा नम्बर १ मा दालचिनी र अम्रिसोको बिरुवा रोपण तथा अन्य वडामा वर्षात्को समयमा बाटो हिलो चिप्लो नहोस् भन्ने उद्देश्यले मोटरबाटोको छेउछाउमा नाली खन्ने काम दिलाइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०७६ बुधबार ००:००  ५ : ३८ बजे