१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

भारत भर्सेज न्यूजिल्याण्डःआज पनि पानी परे को पुग्ला फाइनलमा ?



एजेन्सी ।

वर्षाका कारण प्रभावित भएको एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत र न्युजिल्याण्डबिचको खेलको फैसला बुधबार हुँदैछ । मंगलबारको खेल वर्षाका कारण रोकिएको थियो ।

अम्पायरले सो खेल ‘रिजर्व डे’ अर्थात बुधबार पूरा गर्ने निर्णय लिए । बुधबार मौसम राम्रो रहे अर्थात पानी नपरेमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे खेल सुरु हुनेछ । नियम अनुसार मंगलबार जहाँबाट रोकिएको थियो, खेल त्यहिँबाट सुरु हुन्छ ।

यसको अर्थ न्युजिल्याण्डले पहिले आफ्नो पारी पूरा गर्नेछ । त्यसपछि मात्रै भारतले ब्याटिङ्ग गर्नेछ । वर्षाका कारण खेल रोकिनु पूर्व न्युजिल्याण्डले ४६ ओभर एक बलमा पाँच विकेटको क्षतिमा २११ रन बनाएको छ ।

यदी बुधबार पनि पानी परेर ओभर घटाउनु परेमा न्युजिल्याण्डले बाँकी ब्याटिङ्ग गर्ने छैन र डकवर्थ लुइस नियमका आधारमा भारतले लक्ष्य पाउनेछ ।

सो नियम अनुसार भारतले २० ओभरमा १४८ रनको लक्ष्य पाउने छ । यस्तै २५ ओभरमा लक्ष्य १७२, ३० ओभरमा १९२, ३५ ओभरमा २०९, ४० ओभरमा २२३ र ४६ ओभरमा भारतले जितका लागि २३७ रन बनाउनु पर्ने हुन्छ ।

आइसिसीले दुवै सेमिफाइनल र फाइनलको फैसलाका लागि रिजर्व डे को प्रावधान राखेको छ । यो नियम अनुसार पहिलो दिन जहाँसम्म खेल भएको छ, रिजर्व डे मा त्यहिँबाट खेल सुरु गरिन्छ ।

यदी रिजर्व डे मा पनि खेलको निर्णय हुन सकेन वा वर्षाका कारण खेल हुन सकेन भने त्यहि टिम फाइनलमा पुग्छ जसको अंक लिग चरणमा बढी थियो ।

यस्तो अवस्थामा भारतको पक्ष बलियो छ, लिग चरणमा भारत शीर्ष स्थानमा थियो भने न्युजिल्याण्ड चौथो स्थानमा थियो । बुधबार पनि फैसला हुन नसकेमा भारत फाइनलमा पुग्नेछ ।

फाइनलमा यस्तै अवस्था आएमा दुवै टिम विजेता बन्ने छन् । तर हालसम्मका ११ संस्करणमा यस्तो भएको छैन ।

प्रकाशित मिति : २५ असार २०७६ बुधबार ००:००  ८ : ३१ बजे