१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

कृषिमन्त्री खनालप्रति किसानको आक्रोशः हदै भयो–‘कि मल लेऊ, कि राजिनामा देऊ’!



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
गत असार १७ गते कपिलवस्तुको बाणगंगा नगरपालिकाको पाचांै नगर सभामा प्रमुख अतिथी रहेका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले अबको ५ दिनपछि किसानले मल पाउने उद्घोष गरे । समयमा मल नपाएर निरासा पालेका किसानहरु कृषिमन्त्रीले गरेको यो भाषणपछि भने केही आशाबादी रहे कि मल ढिलै भए पनि आउला भनेर । कृषिमन्त्रीले भाषण गरेको ५ दिन मात्र होइन आज एक हप्ता पुगिसकेको छ । तर यो बीचमा न मल आएको छ न मल आउने सुरसार नै देखिएको छ । यति हुँदा पनि कृषि मन्त्री खनालले गफ फलाक्न भने छाडेका छैनन् । उनी देशका ठाउँठाउँमा पुग्छन् । किसान दाजुभाई दिदीवहिनीहरु ढुक्क हुनुहोस् मल आउँछ । यति दिनमा आउँछ । उति दिनमा आउँछ भन्दै झुटो भाषण दिन्छन् । अहिले मात्र होइन गत बर्ष पनि कृषि मन्त्री खनालले यस्तै झुटो बोलेर किसानलाई झुक्याएका थिए । मल भारतबाट हिँड्यो अब ३ दिनमै मल आउँछ भन्दै जनतालाई झुटो भाषणको ललिपप खुवाए पनि त्यतिखेर पनि किसानले मल पाएका थिएनन् ।
आफ्नै जिल्लाका कृषि मन्त्री खनालको यो पारा देखेर कपिलवस्तुका किसान तथा कृषि सहकारी संस्थाका संचालकले मायादेवी अनलाइनसंग तीव्र आक्रोश पोखेका छन् । कृषि मन्त्रीलाई थाहा छ डिएपी मल आउने अवस्था छैन् । र, पनि कृषिमन्त्रीले किसानलाई झुक्याइ रहेका छन् । बाणगंगा मौरी पालन तथा मह उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष लिलापती घिमिरले कृषि मन्त्री खनालको भाषण अपरिपक्व रहेको तर्क गर्छन् । उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड भैरहवालाई फोन गरी बुझ्दा डिएपीको कुनै टेण्डर प्रकृया नै नभएको हुँदा तत्काल आउने सम्भावना छैन् । युरियाको सवालमा केही सहजता भए पनि डिएपी आउला र खेतमा राखौँला भनेर किसानले कुरेर बसेको भए त्यसो नगरी विकल्प खोज्न भैरहवाले भनेको भन्दै घिमिरेले दुखेसो पोखे ।
सरकारले डिएपी १८४६ को डिएपी तोकेको कृषि सहकारीबाट उपलब्ध गराउन भनेको छ, सहकारीका अध्यक्ष घिमिरेले भने–“यहाँ किसान आउँछन् । सहकारी घेर्छन् । गोदाम रित्तो छ । हामीले कहाँबाट कसरी मल दिने ? सरकारले तोकेको पहिलो नम्बरको मल (डिएपी १८४६) सरकारले उपलब्ध गराउन सकेको छैन् । दोश्रो नम्बरको खात बेच्ने कुरा भएन ।” अरु मल बेच्दा सहकारीले नाफा खाए भनेर उल्टै दोष आउँछ । हामी एकदमै अन्यौल्मा परेका छौँ ।” किसानले हैरानी दिएपछि आफूहरुले कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा र तौलिहवाको फोन नम्बर दिएर पठाउने गरेको उनले बताए । बाणगंगा मौरीपालन तथा कृषि सहकारीका अध्यक्ष समेत रहेका घिमिरेले आफ्नो सहकारीमार्फत मन्त्री भएर मन्त्रालयको नेतृत्व गरेको २ बर्ष नै किसानलाई हात्ती आयो हात्ती आयो फुस्सा भएको छ । अघिल्लो बर्ष पनि किसानले मल नपाएर हैरानी खेपेका थिए ।
बाणगंगाका समाजसेवी दोलखराम घिमिरेले भने–“खनाल कृषिमन्त्री भएपछि धेरै होला भनेर हामीले आशा गरेका बसेका थियौँ । मन्त्रीले दोश्रो वर्षमा पनि किसानलाई समयमा मल नदिएर निरास पार्नुभयो । मन्त्रीका ठुलाठुला भाषणभन्दा केही सुन्न पाइएको छैन ।”
गत बर्ष पनि समयमा मल नपाएर हैरानी पाएका किसानले यस बर्ष पनि समयमै मल (डिएपी) पाएनन् । खेत रोप्न रासायनिक मल नभई नहुने भन्दै यस पटक पनि मलविनै धान रोप्नु पर्ने स्थिति आएको भन्दै बाणगंगा ४ झुँगाका तुलसी पौडेलले समयमा मल नदिएकोमा कृषि मन्त्रीमाथि तीव्र आक्रोश पोख्दै भने–“कृषि मन्त्री ज्यू कि मल दिनुहोस् । कि राजिनामा दिनुहोस् ।” मन्त्री भएर खनालले जिल्लाबासीलाई केही दिन नसकेकोमा बाणगंगा ४ झुँगाका अर्का किसान तथा अगुवा नेत्र प्रसाद चालिसेले पनि आक्रोश पोखे । अरुको कुरा त छोडौँ जिल्लाबासीलाई नै मल दिन सकिँदैन्नन् भने जिताएको बेकार भो । भोट नै खेर गएको अहिले अनुभूति भइरहेको छ ।
काणगंगा नगरमा लगभग ७० प्रतिशत रोपाई मल बिनै सकिएको छ भने जिल्लामा धेरै धान रोपाई गर्न बाँकी छ । अझै पनि एकदुई दिनमा मल आएमा केही राहत हुने बाणगंगा ११ का अर्का किसान नविन पौडेलको भनाई छ ।
मन्त्रीले लोकप्रियताको लागि भाषण त गरिरहेका छन् कि मल आउँछ मल आउँछ । तर यो भनिरहेका छन् ? जुन सम्भव छैन । अहिलेसम्म कुनै डृण्डर भएको छैन, मल खरिदको विषयमा । यदि अब टेण्डर भयो भने पनि प्रकृया पुर्याएर नेपाल भित्राउदा मल आउने कम्तिामा २० दिन, एक महिना लाग्छ । टेण्डर भएर मल आइ हाले पनि त्यतिखेर सम्म किसानले सबै धान रोपिसक्छन् ।
यस विषयमा कृषि मन्त्रालयको कुरा बुझ्दा पनि कुरो त्यस्तै छ । आफूहरुले मल निकासाको लागि भनेजति रकम अर्थमन्त्रालयबाट नआएपछि टेण्डर हुन नसकेको कृषि मन्त्री खनालले बताए ।

प्रकाशित मिति : २३ असार २०७६ सोमबार ००:००  ११ : १९ बजे