१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

प्रहरीले पत्रकारलाई कुटपिट गरेको सम्बन्धमा पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण



काठमाण्डौ ।
पत्रकार होमकुमार कार्की राजन र मिनकुमार दाहालाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघले आइतबार विज्ञप्ति जारी गरी यस्तो जनाएको हो । प्रहरीको कुटपिटबाट घाइते भएका पत्रकार कार्की नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष र दाहाल पूर्व अध्यक्ष हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामशिंह लामा र प्रहरी जवान विकासशिंह स्याङतानले असार २१ गते शनिबार राति करिब ९ बजे अध्यक्ष कार्की र पूर्व अध्यक्ष दाहाललाई ज्यान मार्ने उदेश्यसहित कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ । आक्रमणबाट गम्भीर घाइते भइ बेहोस अवस्थामा काठमाण्डौ ल्याइएका कार्कीको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
विज्ञप्तिमा महासंघले पत्रकारद्वय कार्की र दाहालमाथिको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्ने साथै घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारबाही गर्न, उपचार व्यवस्था मिलाउन, र भविष्यमा यस्तो घटना दोहोरिन नदिन, पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसंग जोडदार माग गरेको छ ।
साथै विज्ञप्तिमा असार २१ गते गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा कीर्तिपुरको भत्केपाटीमा दुर्व्यवहार भएको घटनाप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७६ आइतबार ००:००  ३ : ०० बजे