१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मोष्ट वान्टेड नसिमलाई कपिलवस्तु प्रहरीले गर्‍यो सार्वजनिक



मायादेवी अनलाइन, तौलिहवा ।
विभिन्न हत्यामा संलग्न भई फरार रहेका कपिलवस्तुका नसिम खाँलाई कपिलवस्तु प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवामा पत्रकार सम्मेलन गरी पक्राउ परेका नसिम खाँ (जावेद वादशाह) लाई आज सार्वजनिक गरेको हो ।
केन्द्रिय अनुसन्धान व्युरोले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा काठमाण्डौंको सिनामंगलबाट विहान ८ बजे नसिम खाँलाई पक्राउ गरेको थियो । उनी नेपाल प्रहरीको मोष्ट वान्टेडको सूचीमा रहेका थिए । गत पौष ३ गते कपिलवस्तुको सिमावर्ती क्षेत्र अभिरावमा भएको मुसहायरा कार्यक्रममा कृषि मन्त्री चक्रपाणी खनाल तथा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलसंगै भएको कार्यक्रममा समेत उनी भाग्न सफल भएका थिए ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपराका नसिम खाँ माथि ८ वटा मुद्धा दर्ता भएका छन् । फरार रहेका खाँमाथी कपिलवस्तुमा घटेका ७ वटा कर्तब्य ज्यान र १ वटा डाँका चोरी मुद्धा रहेको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमशेर राणाले जानकारी दिनुभयो ।
खाँले २०६३ जेठ १९ गते कपिलवस्तुको फुलिका ३ बस्ने धर्मराज बराईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग लागेको छ । भने पछिल्लो सयम २०७४ फागुन ३ गते ४ वर्षीय मोहम्मद अहेमानलाई अपहरण पश्चात हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।
विगतमा विभिन्न शसस्त्र समूहमा संलग्न रहेका खाँ तराईका शसस्त्र समूहसंग राज्यले गरेको वार्ताको पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए । तर यसका अलावा अन्य व्यक्तिगत घटनासंग सम्बद्ध हत्या, अपहरणको मुद्धाका कारण उनी सिमा पारी भारतीय बजारमा बस्दै आएका थिए ।

प्रकाशित मिति : २२ असार २०७६ आइतबार ००:००  १ : ४६ बजे