१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मनसुन सक्रिय, नदी तथा खोलामा बाढीको सम्भावना



काठमाण्डौ ।
देशभर मनसुन सक्रिय हुन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूननचापीय रेखा नेपालतर्फ सरेकाले आइतबारदेखि केही दिन देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार अब विस्तारै पानी पर्ने क्रम बढ्दै जाने छ । आइतबार पनि देशको धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । विषेश गरी दिउँसो मध्य र पश्चिमी क्षेत्रको पहाडी भुभागमा ठूलो पानी पर्ने सम्भावना छ ।
आइतबार राति पूर्वका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । यो क्रम आउने बुधबारसम्म रहने पनि मौसमविद् श्रेष्ठले बताउनुभयो । शनिबार बेलुकादेखि बिहानसम्म काठमाण्डौ उपत्यकामा ७१ दशमलव ५ मिलिमिटर पानी परेको छ ।
सरकारले नदी र खोलामा पानीको सतह बढ्न थालेकाले आउँदो २८ गतेभित्रै बालीनाली थन्काइसक्न अनुरोध गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए सम्भव भएसम्म २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो ।
वर्षाका कारण नदी र खोलामा जलस्तर बढ्दो क्रममा रहेको र एक हप्तापछि बहाव उच्च हुने महाशाखाले जनाएको छ ।
डढेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने महाशाखाको अनुमान छ । केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७६ आइतबार ००:००  ९ : २१ बजे