१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

वाणगंगाको बालज्योतीले जित्यो ‘इजि ए वान क्वीज सिजन टु’ को उपाधि



मायादेवी अनलाइन, कपिलवस्तु ।
ए वान मिडिया सेन्टरद्धारा आयोजित ‘इजि ए वान क्वीज सिजन टु’ को उपाधि बाल ज्योती इंग्लिस बोर्डिङ स्कुल गजेहडाले जितेको छ । कपिलवस्तुका ५ नगरपालिकाका विद्यालयलाई पछाडि पार्दै वाणगंगा नगरपालिकाको गजहेडामा अवस्थित बालज्योतीले उपाधि जितेको हो । उपाधि जितेसंगै बालज्योतीका प्रतियोगीले बुटवलको न्यू होराइजन माविमा कक्षा ११ र १२ मा पूर्ण छात्रबृत्ती, नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।
बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा अवस्थित सोसीयल इंग्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको फाइनल प्रतियोगीतामा सिद्धार्थ विद्यामन्दिर तौलिहवा दोस्रो भएको छ । सिद्धार्थका प्रतियोगीले एभरेष्ट कलेज बुटवलमा पूर्ण छात्रबृत्ती संगै नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । यसैगरी आर्दश इंग्लिस बोर्डिङ स्कुल इमिलिया तृतीय र न्यू शिशु इंग्लिस बोर्डिङ स्कू्लले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । तेस्रो हुने न्यू शिशुका प्रतियोगीले पारिजात मावि बनगाई कपिलवस्तुमा कक्षा ११ र कक्षा १२ मा पूर्ण छात्रबृत्ती पाएका छन् । गत बर्षको सिजन वानको फाइनलमा दोस्रो हुन सफल न्यू शिशु यसपालि भने सान्त्वना स्थान आउन सफल भएको हो ।
गत मंसिर देखि जिल्लाका ६ नगरपालिकामा नगरस्तरीय प्रतियोगीता सम्पन्न गरेर शनिबार जिल्लास्तरीय प्रतियोगीता आयोजना गरिएको हो । प्रतियोगीताको फाइनलका लागि ६ ओटै नगरपालिकाका प्रथम÷प्रथम टिमले सहभागीता जनाएका थिए । प्रतियोगीताका लागि तीन जना सहभागी थिए । जसमा एक जना छात्रा अनिवार्य राखिएको थियो । इजि, ओके, ओयो लगायत चाउचाउका ब्राण्डको आधिकारीक विक्रेता क्यापिटल फुड्स प्रालिले टाइटल र मुख्य प्रायोजन गरेको प्रतियोगीतामा ६ ओटै नगरका दर्जनौं विद्यालय सहभागी थिए ।
गत बर्षको सिजन वानमा कपिलवस्तुको बुद्धज्योती मावि प्रथम, न्यू शिशु इंग्लिस बोर्डिङ स्कुल दृतीय, सेन्ट ज्यूड्स इंग्लिस बोर्डिङ स्कूल तृतीय र पारिजात मावि सान्त्वना स्थान आउन सफल भएका थिए । यद्यपि गतबर्षका विजेताले यस बर्ष उपाधि उचाल्न सकेनन् ।
विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने र विद्यार्थीको उज्जवल भविष्यमा इट्टाको काम गर्नका लागि ए वान मिडिया सेन्टर कपिलवस्तुले जिल्लाव्यापी अन्तर नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगीता आयोजना गर्दै आएको छ । प्रतियोगीतामा बुटवल स्थित न्यू होराइजन, एभरेष्ट मावि र कपिलवस्तु स्थित पारिजात माविले छात्रबृत्तीका लागि सहयोग गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०७६ शनिबार ००:००  ८ : १७ बजे