१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

’मोस्ट वाण्टेड’ सूचीमा रहेका ’बादशाह’ काठमाण्डौबाट पक्राउ



कपिलवस्तु ।
कपिलवस्तु प्रहरीको सर्वा्धिक खोजीको सूचीमा रहेका ’बादशाह’ भनी चिनिने नसिम खानलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार बिहान काठमाण्डौबाट पक्राउ गरेको हो । मायादेवी गाउँपालिका ४ पिपरा गाउँका नसिम खानमाथि जिल्लामा झण्डै एक दर्जन हत्या, आतंक, लुटपाट, अपहरणलगायतका मुद्दाहरु दर्ता गरिएका छन् ।
पक्राउ परेका खान प्रहरीबाट बच्नका लागि कपिलवस्तुको सीमावर्ती भारतीय बजार अलीगढवामा आफ्नै निजी घर बनाई बस्दै आएका थिए । सीमावर्ती भारतीय बजार अलीगढवाबाटै कपिलवस्तु जिल्ला भर खानले आफ्नो प्रभाव जमाउँदै आएका थिए ।
फरार सूचीमा रहेका खानमाथि सात वटा कर्तव्य ज्यान र एउटा डाँका मुद्दा दर्ता रहेको छ । पक्राउ परेका खानमाथि तत्कालीन माओवादीका जिल्लास्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग लागेको छ ।
उनीमाथि पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउँपालिका(४ का वडा अध्यक्ष फतेह मोहम्मदको ५ वर्षीय छोरा मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरीबाट जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।
विगतमा विभिन्न सशस्त्र समूहमा संलग्न रहेका खान तराइका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताको पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए । तर यसका अलावा अन्य व्यक्तिगत घटनासँग सम्बद्ध हत्या तथा अपहरणको मुद्दाका कारण उनी सीमा पारी भारतीय बजारमा बस्दै आएका थिए ।

तस्बीर नेपाल लाइभ

प्रकाशित मिति : २१ असार २०७६ शनिबार ००:००  १ : ४६ बजे