सीताराम चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ की निमा थारु अहिले सजिलै पढ्न लेख्न सक्ने भएकी छन् । पढ्ने उमेरमा स्कूल जान नपाएकी थारु अहिले नगरपालिकाले संचालन गरेको साक्षरता कक्षामा भाग लिएपछि अक्षर चिन्ने र शब्द मिलाएर वाक्य समेत पढ्न सक्ने भएको बताउँछिन् । उनी जस्तै साक्षरता कक्षामा सहभागी भएका ५ हजार ९सय ३३ निरक्षर महिला अहिले सामान्य लेखपढ गर्न सक्ने भएका छन् ।
शिवराज नगरपालिकामा १५देखि ६० उमेर समूहका ६हजार ६सय २७ जना निरक्षर रहेकोमा साक्षरता कक्षामा ५हजार ९सय ३३ जनाले सहभागिता जनाई आफ्नो नाउँ गाउँ लेख्न र पढ्न सक्ने भएको शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिए । शिवराज नगरपालिकामा १५–६० उमेर समूहका कूल ५९ हजार ९सय ६८ जनसंख्या छ । अभियानपश्चात ६देखि ६० उमेर समूहका कूल ५७ हजार ४२ जना साक्षर पुगे । यो कूल जनसंख्याको ९५ दशमलव १२ प्रतिशत हो ।
शिक्षा शाखा प्रमुख पन्थीका अनुसार साक्षरता प्रतिशत ९५ बढी भएमा साक्षरता क्षेत्र घोषणा गर्न मिल्ने प्रावधान अनुसार शिवराजलाई साक्षर नगर घोषणा गरिएको हो ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शिवराज नगरपालिकाको वडा नं. १, ९ र १० पहिले नै साक्षर वडा घोषणा भइसकेको बताए । सिंगो नगरलाई साक्षर घोषणा गर्न वडा नं. २, ३, ४, ५, ६, ७, ८ र ११ मा ६ हजार ६सय २७ जना निरक्षर देखिएकाले साक्षरता कक्षा संचालन गरिएको नगरप्रमुख अधिकारीले जनाए । साक्षरता कक्षा संचालनका लागि माध्यामिक विद्यालयका विद्यार्थीलाई परिचालन गरिएको नगरप्रमुख अधिकारीको भनाई छ । जसमा ८ वटा विद्यालयका विद्यार्थीहरु परिचालित थिए । कूल ३सय १ वटा कक्षा संचालनबाट ५हजार ९सय ३३ जना साक्षर हुन सफल भएको नगरप्रमुख अधिकारीले जानकारी दिए । नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने एसईई परीक्षा दिएर बसेका विद्यार्थीले साक्षर कक्षा संचालन गरेकाले साक्षरता अभियान प्रभावकारी भएको उनले जनाए ।
शुक्रबार भव्य कार्यक्रमका बीच शिवराजलाई साक्षर नगर घोषणा गरिएको छ । प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गमलाको बिरुवामा मलजल गरी कार्यक्रम उद्घाटन गरे । प्रदेशका दुई जिल्ला कपिलवस्तु र बाँके अझै पनि पूर्ण साक्षर घोषणा गर्न बाँकी रहेको सामाजिक विकासमन्त्री बरालले बताए । शिवराज नगरपालिका साक्षर घोषणाले एउटा सूचक पूरा भएको बरालले बताए । शिवराज जिल्लाको तेस्रो पूर्ण साक्षर नगर बन्न सफल भएको बरालले जनाए ।
सोही प्रसंगमा मन्त्री बरालले पाँच बर्षपछि सम्पूर्ण बजेट शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा लगानी हुने उद्घोष गरे । अहिले बन्ने बाटोहरुमा अब लगानी लगाउनु पर्दैन । प्रदेशका कुनै पनि विद्यालय अब टिनको छानो भौतिक पूर्वाधार विनाको नरहने उनले औल्याए ।
कार्यक्रममा प्रदेश नं. ५ सामाजिक विकास समिति सभापति दीर्घनारायण पाण्डे, नेपाली काग्रेस संसदीय दलका उपनेता तथा प्रदेश सांसद वीरेन्द्र कुमार कनौडिया, प्रदेश सदस्य अर्जुन कुमार के.सी., प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक नारायण खनाल, शिक्षा विकास निर्देशनालयका मनोज कुमार गैरे लगायतले शिवराजले साक्षर नगर घोषणा गर्न सफल भएकोमा बधाई तथा शुभकामना दिएका थिए ।
पूर्ण साक्षर नगर घोषणा कार्यक्रममा नगरका सामुदायिक विद्यालयतर्फ आधारभूत तहमा उत्कृष्ट अंक ल्याउने नेपाल आदर्श मा.वि.की छात्रा किरण चौधरी, छात्र योगेश चौधरी तथा संस्थागततर्फ शिवगढी इंलिस स्कुलका विद्यार्थी सुशिला अधिकारी, ४ जिपिए ल्याउने राजु अधिकारी, शिवम अधिकारी र फफुरी इलिस बोर्डिङ स्कूलका अनिल गैरेलाई नगद सहित सम्मान गरिएको थियो ।
शिवराज नगरपालिकाको विकास पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्कालाई प्रदान गरिएको थियो । यस्तै उत्कृष्ट करदाता बालाजी सिमेन्ट प्रा.लि.का संचालक रहमतुल्ला मुसलमान, उत्कृष्ट निर्माण उपभोक्ता समितिमा उमरी गाउँदेखि उमरी गुफासम्म सडक कालोपत्रे उपभोक्ता समिति, उत्कृष्ट कर्मचारी सुग्रीव रैदास, साहित्य, कला र संस्कृतितर्फ सुमन पौडेल, जेष्ठ नागरिक वडा नं. ८ का रामप्यारे नाऊ र वडा नं. २ का कमला बुढालाई नगदसहित कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले शिवराजलाई साक्षर घोषणामा हरेक क्षेत्रबा सहयोग पु¥याउने सम्पूर्ण नगरबासीप्रति आभार प्रकट गरेकी थिइन् ।
२१ असार २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया