१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

विमाको रकम २५ लाख पाउने लोभमा चार वर्षीया छोरीको हत्या



रौतहट ।
विमा बापतको २५ लाख रुपैयाँ पाउने लोभमा एक जना बुवाले छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले विमाको रकमको लोभमा ५ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचि हत्या गरेर पोखरीमा फालेको अवस्थामा शव फला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार पत्रकार सम्मेलन गर्दै आरोपी यादवलाई सार्वजनिक गरेको छ । रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हातपार्नका लागि यादवले छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए । हत्याको भोलिपल्ट पोखरीमा ४ वर्षीया लक्ष्मीको शव फेला परेपछि प्रहरीले शुक्ष अनुसन्धान गरेको थियो ।
पैसाको लोभमा हत्या ?

रामकिशोरकी कान्छी छोरी हुन् लक्ष्मी । उनले छोरीको सुरक्षित भविष्यका लागि विमा गराएका थिए । रौतहटको गरुडामा रहेको प्रभु बैंकमा रामकिशोरकले कान्छी छोरी लक्ष्मीको २५ लाख रकमको विमा गराएका थिए । बिमाबापतको पहिलो किस्ता करिब पौने २ लाख उनले बैंकलाई बुझाएका पनि थिए ।

तर कसैले बिमा गरेको एक महिनामै यदी बिमकको निधन भएका दुई गुणा पैसा फिर्ता पाइन्छ भन्ने सुनायो, त्यसपछि उनमा छोटो समयमा नै धेरै पैसा कमाउने लोभ जाग्यो । रामकिरोशले पैसाको लोभमा विमा गराएको २९ औं दिनमा छोरीको हत्या गरेका थिए ।
आर्थिक अवस्था कमजोर भएको हुँदा पैसा कमाउने दाउमा रामकिशोरले चार वर्षीया छोरीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले छोरीलाई घरमै कुटपिट गरी हत्या गरेको र हत्यापछि शव पोखरीमा फालेर आफैं छोरी हराएको भन्दै प्रहरीलाई खबर गर्न पुगेको डीएसपी कार्कीले बताए ।
नियन्त्रणमा लिएको यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट मुलुकी अपराधसंहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्यअगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७६ शुक्रबार ००:००  ३ : ५० बजे