मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तु चन्द्रौटा घटनामा संलग्नहरु १२ बर्ष पछि पक्राउ परेका छन् । १४ जनाको ज्यान जाने गरी भएको चन्द्रौटा घटनाका आरोपी फरार हुँदै आएका थिए । पक्राउ पर्नेहरु शिवराज नगरपालिकाको विसनपुरका भदई यादव, जगदीश गुप्ता, चिन्कु मुसलमान रहेको कपिलवस्तुका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेयले बताउनुभयो । पक्राउ परेका तीन अभियुक्त कपिलवस्तु घटनाका आरोपी रहेको पाण्डेले बताउनुभयो । नेता खाको हत्यापछि उनीहरुले देवीपुर गाउँमा आगजनी गरेर फरार भएका थिए ।
२०६४ भदौ ३० गते शिवराज नगरपालिकाको कुदरभेटवाका मुस्लिम अगुवा मोइद खाको अज्ञात समुहले गोली हानी हत्या गरेपछि हिंसा भड्किएको थियो । घटनामा नेता खाँसहित १४ जनाको ज्यान गएको थियो । विभिन्न स्थानमा आगजनी, लुटपाट, तोडफोड गरी करौडोको क्षति भएको थियो ।
घटनाले हिन्दु र मुस्लिमबीचमा विवाद बढेपछि बुटवलसम्म मुस्लिम र हिन्दूबीचमा अराजकता फैलिएको थियो । हिन्दुले मुस्लिमका मस्जिद जलाएका थिए भने मुस्लिमले हिन्दूका बस्तीमा आक्रमण गरेका थिए । उनीहरु फरार भएपछि अदालतले उनीहरुविरुद्धको मुद्दा मुल्तबी राखेको थियो । पक्राउ परेका उनीहरुलाई अदालतमा पठाईएको प्रहरी नायब उपरिक्षक पाण्डेयले बताए। घटनापछि विसनुपुर गाउँका एक सय बढी परिवार विस्थापित भएका थिए ।
विभिन्न पक्षको लामो पहलपछि मात्रै हिन्दु र मुस्लिमबीच भाईचाराको सम्बन्ध स्थापित भएको थियो । त्यसपछि विस्थापितहरुलाई गाउँमा पुनःस्थापना गरिएको कपिलवस्तु घटना पिडित संघर्ष समितिका संयोजक माधव पोख्रेलले बताए ।
घटनापछि सरकारले लोकेन्द्र मल्लीकको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । तर अझैसम्म समितिको प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदन सार्वजनिक नहुँदा अझैसम्म पिडितहरुले न्यायको अनुभूतिगर्न नपाएको उनले बताए । ‘प्रतिवेदन सार्वजनिक गर्न भन्दै हामी धेरै धायौँ तर सफल हुन सकेनौँ’, उनले भने ।
सरकारले मृतक परिवार र घटनाका पिडित परिवारलाई राहत स्वरुप केही रकम दिए पनि न्यायको अनुभूति गर्न नसकेको उनले बताए । ‘१२ वर्षमा धेरैवटा सरकार फेरिए तर हाम्रो माग सम्बोधन गरिएन, वर्तमान दुई तिहाईको सरकारले प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्छ’, पोख्रेलले भने । सो घटनामा १ हजार ५४ घर, २ सय १६ सवारी साधन गरी २० करोड भन्दा बढीको क्षति भएको थियो ।
२० असार २०७६ शुक्रबार ००:००
6
Shares
प्रतिक्रिया