रचना खासु मगर, तौलिहवा ।
कपिलवस्तु नगरपालिका वडा नम्बर -१ ले तौलिहवा बजारमा रहेको ठाकुरद्धार मन्दिर वरिपरी ५० लाख लागतको नमुना लाईटिङ जडान गर्ने तयारी गरेको छ । मन्दिर र बजारलाई सुन्दरीकरण बनाउने अभियान अन्तर्गत रातो लाईटिङ र रंगीन टायल जडान गर्ने गरी कार्य अघि बढाएको हो ।
चालु आर्थिक बर्षमा बजारको सडकका लागि बजेट बिनियोजन गरिएको थियो । तर सो सडक हुलाकीमा परेको र हुलाकी सडक निर्माणका लागि टेन्डर खुलेकोले सो बजेट हेरफेर गरी नमुना लाईटिङमा लगानी गर्न लागिएको हो ।
वडा कार्यालयको सहयोगमा तौलिहवा स्थित रत्नराज्य उमाबिमा नेपाल फोटो पत्रकार महासंघद्धारा आयोजित जनप्रनिनिधि र पत्रकारहरुको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष सुदीप पौडेलले सो जानकारी गराएका हुन ।
उनले सो लाईटिङ जिल्ला कै नमुना हुने र तौलिहवा बजारको सुन्दरीकरणमा सहयोगी हुने बताए । ‘यो लाईटिङ जिल्लामै नमुना हुनेछ, जडान भए पछि सबैले यसको महशुस गर्नेछन्’ उनले भने ‘रातो लाईटिङ स्टिमले बनाउने मनमोहक वातावरणले सबैको मन जित्नेछ ।
उनले तौलेश्वरनाथ मन्दिर अघि रहेको महेन्द्र पार्क समेत सुन्दरीकरण गर्ने, भवनहरु अपांगमैत्री बनाउने, छाडाचौपाया नियन्त्रण गर्ने, सरसफाईमा बिशेष ध्यान दिने बताए । बजारका बिभिन्न स्थानमा शौचालय नहुँदा समस्या भएको उनले बताए । जग्गा नहुँदा सार्वजनिक शौचालय निर्माण गर्न गाह्रो भएको उनले बताए ।
उनले गत बर्षकोे नगर सभामा पारित गरिएको नगरलाई फुसको छानामुक्त बनाउने योजना समेत अलपत्र परको प्रति दुःख ब्यक्त गरे । ‘आर्थिक बर्ष सकिन अब केही दिन मात्र छ तर अझै सम्म फुसको छानामुक्त बनाउने अभियान सुरु भएको छैन् । यो निकै दुखदायी कुरो हो’ उनले भने ‘टीन किनेर ल्याउने कुरा सुनेको छु, कहिले आउने र कहिले बाड्ने थाहा छैन् ।
वडा र नगरपालिकाको कार्यक्रमहरुमा कर्मचारीहरुले समेत सहयोग नगरेकोले सोचे अनुसार काम हुन नसकेको उनले गुनासो गरे । ‘कर्मचारीहरुबाट आशा गरे अनुसार सहयोग पाईएको छैन, त्यसैले काम गर्न गाहो परेको छ ।’ उनले तौलेश्वरनाथ महादेव मन्दिरको सुन्दरीकरण, सरकारी बिद्यालयको विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले सरसफाईमा आफ्नो बिशेष चासो रहेको बताए । निर्माण सम्पन्न भए पनि हस्तान्तरण नभएको भवन सञ्चालन गरी तौलिहवा अस्पतालको सुधारमा पहल गर्ने उनले प्रतिबद्धता समेत ब्यक्त गरे । सो अवसरमा नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर- ३ का वडा अध्यक्ष प्रकाश गैरेले शिक्षा, स्वास्थ्य, सरसफाई लगायतमा नगरपालिकाले बिशेष प्राथमिकता दिएको बताए । उनले अबको ३ बर्षमा नगरको मुहार फेरिने बताए ।
फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष मनोज पौडेलले नगरपालिकाको चिनारीका लागि कुनै ठोस कार्यक्रम गर्नुपर्ने बताए । फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष मनोज पौडेलको अध्यक्षता, उपाध्यक्ष किरणमान बज्राचार्यको स्वागत तथा मनिष कार्कीको संचालनमा भएको कार्यक्रममा आधा दर्जन बढीले बिभिन्न सुझाव प्रतिक्रिया दिएका थिए ।
१९ असार २०७६ बिहिबार ००:००
4
Shares
प्रतिक्रिया