तानसेन ।
पाल्पाको माथाँगढी गाउँपालिकाले गर्भवती महिलालाई घर–घरमा एम्वुलेन्स र स्वास्थ्यकर्मी खटाउने भएको छ । आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा कार्यक्रम समावेश गरिएको छ । घरबाट स्वास्थ्य चौकीको बर्थिङ सेन्टरसम्म गर्भवती महिलालाई एम्वुलेन्सबाट गाउँपालिकाले सेवा प्रदान गर्ने छ ।
बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका जटिल गर्भवती महिलालाई तानसेनका अस्पतालसम्म गाउँपालिकाकै एम्वुलेन्सले र्पुयाउने छ । गाउँपालिकाको स्वास्थ्य संस्थाबाट रिफर भएका सुत्केरी महिलाको लागि अस्पतालमा लाग्ने सम्पूर्ण खर्च पनि व्यहोर्ने छ ।
गर्भवती भएको ७ महिना सुरु भएपछि विशेष चेकजाँचको लागि स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार घरमा परिचालन गरिने छ। गर्भवती महिलाको पहिचानको लागी झण्डा राख्ने, स्वास्थ्य चौकी तथा शाखाबाट दैनिक रुपमै गर्भवती तथा सुत्केरी महिलाको अवस्थाबारे जानकारी लिई समिक्षा गर्ने र अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित वडाध्यक्षलाई जानकारी गराउने गरी कार्यक्रम स्वीकृत भएको छ ।
आमा र बच्चाको जीवनलाई पूर्ण सुरक्षित बनाउदै माथाँगढीलाई स्वस्थ गाउँपालिका बनाउन कार्यक्रम स्वीकृत गरिएको अध्यक्ष सन्तोषकुमार थापाले बताए। यहाँ अझै पनि ३० प्रतिशत गर्भवती महिला घरमै सुत्केरी हुँदै आएका छन् ।
१९ असार २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया