१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

विश्वकप क्रिकेटः न्यूजिल्याण्डलाई हराउदै सेमिफाइनलमा इङ्ल्यान्ड



एजेन्सी ।
इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्ड यस संस्करणको विश्वकपको सेमिफाइनलमा स्थान बनाउने तेस्रो टोली बनेको छ ।
बुधबार भएको खेलमा न्युजिल्यान्डलाई ११९ रनको फराकिलो अन्तरले पराजित गर्दै इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो । रिभर साइड क्रिकेट मैदानमा इङ्ल्यान्डले दिएको ३०६ रनको फराकिलो लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४६ ओभर ६ बलमा सबै विकेट गुमाउँदै मात्र १८६ रन बनायो ।
न्युजिल्यान्डका लागि टोम लाथमले अर्धशतकीय पारी खेले । ६५ बल खेलेका उनले ५ चौकाको मद्दतमा ५७ रन बनाए । त्यस्तै न्युजिल्यान्डका लागि रोस टेलरले २८ रन जोड्दा कप्तान केन विलियम्सनले २७, जिम्मी निशमले १२ र मिचेल स्यान्टनरले १२ रनको योगदान गरे ।
बलिङतर्फ इङ्ल्यान्डका लागि मार्क वुडले सार्वधिक तीन विकेट लिए । त्यस्तै इङ्ल्यान्डका क्रिस वक्स, जोफ्रा आर्चर, लियाम प्लंकेट, आदील रशिद र बेन स्टोक्सले समान एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनायो । इङ्ल्यान्डका लागि बेयरिस्टोले शतकीय पारी खेले । ९९ बल खेलेका उनले १५ चौका र १ छक्काको सहयोगमा १०६ रन बनाए । त्यस्तै इङ्ल्यान्डका लागि जेसन रोयले अर्धशतकीय पारी खेले । ६१ बल खेलका उनले ८ चौकाको सहयोगमा ६० रन बनाए ।
इङ्ल्यान्डको फराकिलो योगफल बनाउन कप्तान इयान मोर्गानले ४२ रन जोड्दा जोय रुटले २४, आदिल रशिद १६, लिम प्लंकेट १५ तथा जोस बटलर र बेन स्टोक्सले समान ११-११ रन जोडे ।
बलिङतर्फ न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, म्याट हेनरी र जिम्मी निशमले समान दुई–दुई विकेट लिए । त्यस्तै न्युजिल्यान्डका लागि मिचेल स्यान्टनर र टिम साउथेले समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : १९ असार २०७६ बिहिबार ००:००  ६ : २३ बजे