९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

वडाबासीले गरे वडाध्यक्ष भुसालको खुलेरै प्रशंसा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ का वडाबासीले वडा अध्यक्षको खुलेरै प्रशंसा गरेका छन् । वडा कार्यालयले दिने सेवा प्रवाह देखि विकास निर्माणका काममा आफुहरु सन्तुष्ट रहेको वडाबासीले बताए । वडा कार्यालयको आयोजना तथा मायादेवी मिडिया ग्रुप प्रालिको प्राविधिक सहयोगमा बुधबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने अधिकांश बक्ताले वडाध्यक्षको काम प्रति प्रशंसा गर्दै सुझाव सहितको प्रश्न राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडाले चालु आवमा गरेका विकास निर्माणको प्रगतिबारे बताउँदै वडाध्यक्ष गुणनिधी भुसालले संघ, प्रदेश र नगरपालिका गरी २२ करोड बढीको बजेट कार्यान्वयन भएको बताउनुभयो । चालु आवमा वडा र नगरपालिकाबाट विनियोजन गरिएका विकास योजनाहरु पूर्ण रुपले सम्पन्न भएको बताउँदै वडाध्यक्ष भुसालले केन्द्र र प्रदेश सरकारबाट सञ्चालित ठूला योजनाहरु कार्यान्वयको चरणमा रहेको बताउनुभयो । जनताका आवश्यक्ताहरु असिमित रहेको भएपनि वडाको भौगोलिक बनावटले जनताका सबै मागहरु पुरा गर्न नसकिएको भन्दै आफ्नो कार्यकालमा सबै मागहरुलाई पूरा गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नगरपालिका भित्र सबैभन्दा बढी जनसंख्या आफ्नै वडामा भएको भन्दै उहाँले बाटाघाटा, पूलपुलेसा, साना सिंचाइ योजना, विजुलीबत्तीलाई प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनुभयो । वडामा वाणगंगा नदीको तटबन्ध र खानेपानी प्रमुख समस्याका रुपमा रहेको भन्दै यो समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकारसंग बजेट माग गरिएको प्रष्ट पार्नुभयो ।
वडा भित्र सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित पार्ने काम पनि चुनौतीको विषय रहेको बताउनुभयो । बर्षौ देखि बसोबास गर्दै आएका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने सोच रहेपनि स्थानीय सरकारले यो काम गर्ने अधिकार नभएको कारण केन्द्र सरकारसंग पहल भैरहेको जानकारी दिनुभयो । केन्द्र सरकारले सुकुम्बासी समस्या समाधानका लागि गम्भिरतापूर्वक लिएको भन्दै यसै बर्षभित्र केही हुनेमा उहाँले आशा व्यक्त गर्नुभयो । नगरपालिकाले ऐलानी, ८ नम्बरी, सुकुम्बासी र अव्यवस्थित बासोबासीहरुको लागि लगत संकलनको लागि योजना बनाएको पनि उहाँले बताउनुभयो ।
मायादेवी मिडिया ग्रुपका तर्फबाट प्रस्तुत नागरिक प्रतिवेदन र बर्हिगमन अभिमतलाई वडाध्यक्ष भुसालले गम्भिरतापूर्वक लिदै वडाबासीको सेवाप्रवाहमा थप सहजता ल्याउनका लागि विभिन्न प्रयास भैरहेको बताउनुभयो । वडाभित्र आउने सेवाग्राहीलाई अधिकांश समय आफैले सेवा दिने र आफु नभएको बेला वडा सदस्यलाई जिम्मेवारी प्रदान गरि जनताको सेवा प्रवाहलाई सहज पारिएको उहाँले जिकिर गर्नुभयो ।
वडा भित्र टोल विकास समिति सक्रियता बनाउने प्रयास भैरहेको भन्दै लक्षित बर्गका लागि छुट्याइएको कार्यक्रम प्रभावकारी भएको उहाँले बताउनुभयो । लक्षित बर्गका कार्यक्रममा विशेष गरी आयमूलक र सीपमूलक काममा जोड दिइएको पनि उहाँले बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने सेवाग्राहीले नगरपालिकाले फाल्दै आएको डम्पिङ, नदीजन्य पदार्थको दोहन, महिला हिंसा, सुन्दरीकरण, सार्वजनिक शौचालय, उजुरी पेटिका छाडाचौपाय लगायतका समस्या राखेका थिए ।

प्रकाशित मिति : १९ असार २०७६ बिहिबार ००:००  ६ : १६ बजे