१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

दाङमा ५३ जना सिकलसेलका बिरामी फेला



दाङ ।
जिल्लामा ५३ जना सिकलसेलका बिरामी भेटिएका छन्। घोराही उपमहानगरपालिकाले विभिन्न वडामा आयोजना गरेको स्वास्थ्य शिविरमा थारु समुदायका ५३ जना व्यक्तिमा सिकलसेलको लक्षण देखिएको हो। असार १२, १५ र १६ गते वडा नम्बर २ को रामपुर, वडा नम्बर ७ को सौडियार र वडा नम्बर १० को नारायणपुरमा ३ सय ४३ जनामा गरिएको परीक्षणमा ५३ जनामा सिकलसेल एनिमियानको लक्षण देखिएको हो। रामपुरमा ५५ जनाको रगत परीक्षण गर्दा आठ महिला र चार पुरुष गरी १२ जनामा प्रारम्भिक लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले बताए। त्यसैगरी सौडियारमा १३१ जनाको रगत परीक्षणका क्रममा १४ महिला र १ जना पुरुषमा सिकलसेलको लक्षण देखिएको छ। नारायणपुरमा १५७ जनाको रगत परीक्षण गर्दा १९ महिला र सात पुरुष गरी २६ जनामा सिकलसेलको लक्षण देखिएको उनले बताए। त्यसमा पनि २० वर्षदेखि ५९ वर्षका व्यक्तिमा सिकलसेलको लक्षण देखा परेको छ। घोराही उपमहानगर स्वास्थ्य शाखाले सिकलिङ अर्थात प्रारम्भिक जाँच गरेको र अब तुलसीपुरको प्रादेशिक अस्पतालमा ुइलेक्ट्रो प्रोसिसु जाँचका लागि रिफर गरिने संयोजक घर्तीले बताए। बिरामीको उपचार खर्च सबै उपमहानगरले व्यहोर्ने भएको छ। त्यसैगरी दाङमा एक लाख ३७ हजार थारु समुदायको जनसंख्या छ। त्यसमध्ये करिब १५ प्रतिशतमा सिकलसेल एनिमिया बिरामी हुन सक्ने अनुमान गरिएको छ। अहिले जिल्लामा १ सय ३५ जनाले सिकलसेल एनिमियाको नियमित औषधि खाइरहेको तथ्यांक छ। सरकारले १ लाख बराबरको निःशुल्क औषधि दिने व्यवस्था गरे पनि समयमै पाउन नसकेको उनीहरूले गुनासो गरेका छन्। त्यसैगरी दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सिकलसेल एनिमियाको जाँच सेवा सुरु भएको छ। प्रदेश ५ सरकार र तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा इलेक्ट्रोफोरेसिस मेसिन जडान गरेपछि दाङमै पहिलो पटक सिकलसेल एनिमियाको जाँच सेवा सुरु भएको हो। प्रदेश सरकारको १० लाख र उपमहानगरपालिकाको ८ लाखको लगानीमा मेसिन खरिद गरी सेवा सुरु गरेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सर्वेश शर्माले बताए। यसअघि बिरामीहरू सिकलसेल जाँच गर्न जिल्ला बाहिर नेपालगञ्ज वा काठमाडौं जान्थे। दैनिक ५० जना बिरामीलाई जाँच गर्न सकिने र एक पटकमा ९ जनाको जाँच गर्न मिल्ने शर्माको भनाइ छ। जाँचका लागि १२ सय रुपैयाँ लाग्ने उनले बताए। यो रोग रगतको कमीले लाग्ने वंशाणुगत रोग हो। विशेषतः यो रोग थारु समुदायका मानिसलाई लाग्छ। थाहाखबरबाट

प्रकाशित मिति : १८ असार २०७६ बुधबार ००:००  ९ : ३४ बजे