चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
बाणगंगा नगरपालिकाको पाचौं नगरसभामा आर्थिक बर्ष २०७६÷०७७ को बजेट सार्वजनिकिकरण भइरहेको थियो । नगरद्धारा आमन्त्रित सम्पूर्ण अतिथिहरुले मञ्चको अगाडी सजाइएका सम्पूर्ण कुर्चिहरु टम्म भरिएका थिए । औपचारिक कार्यक्रमको सुरुपछि केही मन्तव्य सकेर मञ्चमा नगर उपप्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरको नीति तथा कार्यक्रममाथिको बजेट प्रस्तुत गरे । त्यसपछि क्रमिक रुपमा अतिथिहरुले आ–आफ्नो सुझावसहितको मन्तव्य राखे । मञ्चमा आसिन अतिथिहरुमध्ये कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, नेकपा कपिलवस्तु अध्यक्ष झविलाल पोख्रेल, नेकपा केन्द्रिय सदस्य विमला घिमिरे, प्रदेश सांसद विष्णु पन्थी र प्रतिनिधि सांसद अत्तहर कमाल मुसलमानले आ–आफ्नो मन्तव्य राखिसकेका थिए ।
अब पालो थियो मञ्चमा बोल्ने, प्रमुख अतिथिको । बजेट भाषण कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्लाबाटै प्रतिनिधि सांसद बनेर मन्त्री बनेका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ थिए । नेताहरुको भाषण सुनेर पट्याएर मानिरहेका दर्शकले कृषिमन्त्रीकै भाषण सुन्न ब्यग्र प्रतिक्षा गरेका थिए । किनभने कृषिमन्त्रीकै जिल्लामा यतिखेर मलको चरम अभाव छ । मलको यो चरम अभावमा कृषि मन्त्रीले के भन्नुहुने हो ? मल कहिले आउने हो ? केही सुन्न पाइन्छ कि भनेर मन्त्री ज्यूको भाषण सुन्न कुरेर बसेको बाणगंगा ४ झुँगाकी एलिसा न्यौपानेले बताउनुभयो ।
न्यौपाने जस्तै सबैको यस्तै प्रतिक्षा थियो । यसैक्रममा बजेट सार्वजनिक कार्यक्रमका संचालक भीष्मराज भुसालले उद्घोषण गर्दै मन्त्रीलाई बोलाउने सुरसार गरे । आफ्नो ब्यस्त समयको बाबजुत पनि नगरको निमन्त्रणालाई स्विकार गरी उपस्थित भएर कार्यक्रमको गरिमा बढाइ दिनुभएकोमा नगरको तर्फबाट धन्यबाद दिँदै आफ्नो अमूल्य भनाई राखिदिनुहुन प्रमुख अतिथि माननीय कृषिमन्त्री चक्रपाणी खनाल ज्यूलाई हार्दिक अनुरोध गर्दछु भन्दै भूमिका बाँधेर कार्यक्रम संचालक भूसालले मञ्चमा बोलाए । त्यसपछि दर्शक दिर्घाबाट गड्गडाहक ताली बज्यो । तरर तालीको आवाज गयो । यति ताली खाइसकेपछि मन्त्री ज्यू पनि मख्ख । मुसुमुसु हाँस्दै मन्त्री खनालले टक्क माइक छोपे । अनि सम्बोधन सुरु गरे । कार्यक्रम अवधिभर मन्त्रीले गहकिला भनाई राखेर बाणगंगा नगरबासीको मन जिते । उनी बोलुञ्जेल कसैले पनि आँखा पनि चिम्म गरेनन् नै । मानिसहरु चुईक्क समेत बोलेनन् ।
मन्त्रीले जतिजति कुरा गर्छन् उति–उति दर्शकले चाखपूर्वक सुनिरहेका थिए । मन्त्रीले भाषणमा राम्रैसंग तयारी गरेका रहेछन् । उनले सम्बोधनमा सुरुदेखि अन्त्यसम्म जिल्लाको विकास निर्माणदेखि केन्द्र सरकारले गरेका कामहरुको बारेमा मज्जैले बताए । उनले रेल आउने, पानी जहाज आउने कुरा गरे । रेल र पानी जहाज भित्त्राएर तीन बर्षमा देशमा चमत्कार गरिदिने पनि उद्घोष गरे । संगसंगै उनले वाणगंगा नगरमा पर्यटन प्रर्बधनको कुरा गर्दै पर्यटकहरुको आगमन वृद्धि गर्ने कुरा निकाले । यो सबै ठिकै छ । नगरमा पर्यटन प्रबर्धन गर्न नगरका तीन ठाउँहरुको नाम उच्चारण गर्न खनाललाई मन लागेको रहेछ ।
यसैक्रममा उनले नगरमा पर्यटन सम्भावना बोकेका स्थलहरुको चर्चा सुरु गरे । मुख्य गरी उनले नगरमा ठुलो भोल्यूममा बजेट तानेर आन्तरिक र बाह्य पर्यटन प्रवद्धन नगरेसम्म सानातिना मन्दिर बनाएर फाइदा नहुने जिकिर गरे । नगरमा उनलाई तीनवटा स्थानमा पर्यटन प्रवद्र्धन गर्न मन रहेछ । उनले ती स्थलहरुको नाम लिन सुरु गरे । सुरुमा उनले कपिलधामको नाम लिए । त्यसपछि राजापानीको नाम उच्चारण गरे । अनि उनी केही सेकेण्ड अकमकाए । उनलाई लक्ष्मणघाटको नाम भन्न मन लागेको रहेछ । त्यसक्रममा उनले त्यो के अरे ? त्यो उसमुनी छ नि । के अरे ? भन्दै अकमकाए ।
मन्त्रीले आफ्नै जिल्लाको बहुचर्चित धार्मिकस्थल लक्ष्मणघाटको नाम उच्चारण गर्न असमर्थ भएपछि दर्शकदीर्घा र मञ्चमा हाँसो रोकिएन । तपाईले कत्तिको ख्याल गर्नुभयो कुन्नी मैले यो विषयलाई मज्जैले नियालीरहेको थिएँ । मन्त्रीले लक्ष्मणघाटको नाम बिर्सेपछि जोडले मानिस हाँसेको आवाज त आएन । तर सबैजना एकअर्कालाई मुखामुख गरे । सबै मन्दमन्द मुस्कानमा गलल हाँसे । हल शान्तजस्तै भयो । दृश्य यस्तो भईरहँदा मन्त्री खनाल पनि मुसुसु हाँसे । मञ्चको अगाडीपट्टी ठाँट्टिएर बसेका अत्तहर कमाल, विष्णु पन्थी, मेयर मंगल प्रसाद चौधरी, झविलाल पोख्रेलको पनि हाँसो रोकिएन । मुसुमुसु खुबै हाँसे । त्यसपछि एक जनाले मञ्चबाट लक्ष्मणघाट भनेपछि मञ्चमा रहेका मन्त्री खनालले हँ लक्ष्मणघाट । मैले त नाम नै बिर्सेको भन्दै लक्ष्मणघाट भने । त्यसपछि मञ्चका सबैको हाँसो रोकियो । मन्त्रीले भाषण सुरु गरे । अरबौँका योजना पारेर जिल्लालाई विकासमा फड्को मार्ने कुरा गरे । जिल्लाका सबै पर्यटकीय स्थलको विकास गर्नुपर्ने कुरा गरे ।
यहाँ मन्त्रीको खिल्ली उडाउन खोजिएको होइन । तर आफ्नै जिल्लाका मन्त्री भइसकेपछि कहाँ के छ ? कुन ठाउँको विकास कसरी गर्नुपर्छ भन्ने कुराको हेक्का हुनुपर्छ । सामान्य ब्यक्तिले लक्ष्मणघाटको नाम बिर्सेको भए यसलाई सामान्य रुपमा नै लिन सकिन्थ्यो तर मन्त्री, त्यहीमाथि देशमै परिचित लक्ष्मणघाट धामजस्तो पवित्र स्थलको नाम बिर्सिदा यसले जन–मानसमा नकरात्मक प्रभाव पार्न सक्खछ । यसले मन्त्री आफ्नै गृह नगरका अमुल्य समपदाको विकास र समृद्धिमा त्यति जिम्मेवार छैनन् भन्ने सन्देश दिन्छ । त्यहाँ गललल हाँसो उठ्नुको कारण मन्त्रीको खिल्ली उडाउने प्रकारले थिएन ।
मन्त्रीले लक्ष्मणघाट जस्तो चर्चित स्थलको नाम बिर्सिएको भन्ने थियो । त्यसमाथि मन्त्री त्यही ठाउँका बासिन्दा । यसरी मन्त्रीले आफै जन्मि, हुर्केर बाल्यकाल विताएको स्थानलाई विर्सिन्छन भने अन्य स्थानमा के कति गरे होलान भनेर कसरी आशा गर्नू ? त्यसकारण उच्च ओहदामा रहेका ब्यक्तिका हरेक क्रियाकलाप, अभिव्यक्ति, हाउभाउ, रहनसहन, हिडाईडुलाई आदिमा परिपक्कता हुनुपर्दछ । त्यो मन्त्रीले गरेको गल्ती त थिएन मात्र ‘टङ स्लिप’ मात्र थियो । मन्त्रीलाई स्मरण नभएको मात्रै हो ।
मन्त्रीले जानीजानी उपेक्षा गरेको होइन लक्ष्मणघाटलाई । तर एक जनाले भनिहाल्नु भयो जाबो लक्ष्मणघाटको हेक्का नभएको मन्त्रीले के ठुलाठुला कुरा गरेको ? हुन पनि हो आम जनतालाई यस्तो महशुस हुन्छ । तपाइले यो फिचर पढिरहँदा कस्तो पत्रकार रहेछ । यति सानो कुरालाई पनि किन समाचारको हेडलाइन बनाएको भन्ने सोच्नु होला ? यो भन्नेहरुलाई पनि मैले सम्मान गर्दछु तर अगामी दिनमा यी र यस्ता कुरामा उच्च ओहदाका मानिस संवेदनशिल हुनुपर्छ भन्ने सन्देश हो । लाग्नेलाई यो सामान्य नै लाग्ला तर कहिलेकाही यस्ता क्रियाकलापले असामान्य रुप लिन्छन् । यिनै स–साना कारणले कति उच्च ओहदाका व्यक्तिहरुको गरिमा स्खलित भएको हाम्रो आँखा अगाडि छर्लङ्ग छ । त्यसकारण धरै नबोलौँ । काम धेरै गरौँ ।
१७ असार २०७६ मंगलबार ००:००
2
Shares
प्रतिक्रिया