मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले आव ०७६÷०७७ का लागि १ अर्व १२ करोड ४७ लाखको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको वडा नं. १ मा रहेको मायादेवी रिर्सोट प्रालिमा भएको कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण, सर्शत अनुदान, राजश्व बाँडफाड, समपुरक अनुदान, विशेष अनुदान, मौज्दात रकम, आन्तिरिक आय र लगत सहभागीता गरी १ अर्व १२ करोड ४७ लाखको बजेट प्रस्तुत गरिएको हो । जसमा चालु खर्च तर्फ ५९ करोड ९५ लाख ८ हजार रकम छुट्याइएको छ ।
क्षेत्रगत वजेट विनियोजन अनुसार आर्थिक विकास कार्यक्रमका लागि ५ करोड २९ लाख, सामाजिक विकास तर्फ ४९ करोड ८ लाख, पूर्वाधार तर्फ ३३ करोड ७२ लाख, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ३ करोड २१ लाख, वडा स्तरीय योजनाका लागि ११ करोड र बाँकी रकम संस्थागत विकास तथा मानव संशाधन तर्फ विनियोजन गरिएको छ ।
नगरपालिकाबाट सार्वजनिक भएको बजेटमा नगरको पूर्वाधार संगसंगै शिक्षा, स्वास्थ्य, वन तथा वातावरण र आर्थिक विकासलाई प्राथमिकतामा राखिएको छ । असार १० गते बसेको पाचौं नगरसभाको पहिलो बैठकद्धारा पारित नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन गरिएको नगरपालिकाको दाबी छ ।
बजेटले नतिजामूखी विकास पद्धतीको अवलम्वन गर्ने, समावेशी विकास माफर्त गरिबी, बेरोजगारी, असमानता, परनिर्भरता जस्ता समस्यालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । नगरबासीको आवश्यकता अुनरुपका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने उद्धेश्य राखिएको बजेटमा वित्तीय स्रोत परिचालन र व्यवस्थापनमा निजी क्षेत्र र नगरबासीको विश्वास अभिबृद्धी गर्नेसम्म छ ।
बजेट सार्वजनिक पछि बोल्ने अधिकांश बक्ताले बजेट राम्रौ आएको प्रतिक्रिया दिनुभएको छ । कार्यक्रमका बोल्दै प्रमुख अतिथि समेत रहनुभएका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले बजेट कार्यान्वयनमा वाणगंगाले पारदर्शिता देखाएकोमा खुसी व्यक्त गर्नुभयो । नगरले ल्याएको बजेटमा सबै क्षेत्र समेटिएको भन्दै उहाँले अझै बजेटलाई एकत्रित गरेर परिणामा देखिने गरी छुट्याउन आग्रह गर्नुभयो । थोरै थोरै बजेटले राम्रो काम देख्न नसकिने भन्दै ठूलो रकम कुनै एउटा क्षेत्रमा राख्न सके राम्रो हुने सुझाव दिनुभयो ।
प्रतिनिधिसभा सदस्य अतहर कमाल मुसलमानले वाणगंगाले ल्याएको बजेट सामाजिक न्यायको हिसाबले उत्तम रहेको प्रतिक्रिया दिनुभयो । बजेटमा विनियोजन शिर्षक हेर्दा आफुलाई निकै राम्रो लागेको भन्दै अब बजेट कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो ।
प्रदेश सांसद विष्णु पन्थीले वाणगंगालाई देशकै उत्कृष्ट बनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । सबै हिसाबमा वाणगंगा अगाडि रहेको भन्दै अब सिंगो कपिलवस्तुको मुहार फेर्नका लागि वाणगंगामा सुरुवात गर्नु बताउनुभयो । आर्थिक बर्ष ०७६÷०७७ को बजेटले धेरै क्षेत्रलाई समेटिएको र यो उत्कृष्ट बजेट भएको उहाँले बताउनुभयो ।
नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुको सभाध्यक्ष र वडा नं. ५ का वडा अध्यक्ष भिष्मराज भुसालको सञ्चालनमा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विमला घिमिरे, नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, जिल्ला समन्वय समितीकी उप सभापति तारावती चौधरी, नेपाली कांग्रेसका कार्यबाहक नगर सभापति विष्णु थापा, कपिलवस्तु उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष उमानाथ पौडेल लगायतले बोल्नुभएको थियो ।
१७ असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया