७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कपिलवस्तुमा सांसद, नेता, किसानसँगै खेतमा हिलोसँग रमाए



मायादेवी अनलाइन, चन्द्रौटा ।
“धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण” भन्ने नाराका साथ कपिलवस्तुमा १६औं राष्ट्रिय धान दिवस मनाइएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १, शिवपुरमा सर्वसाधारण किसानसँगै सांसद समेत खेतमा पुगी हिलोसँगै रमाउँदै रोपाईं गरे ।
प्रदेश सांसद अर्जुन कुमार के.सी., शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडाध्यक्ष जगत जिसी, अर्जुन पाण्डे लगायत व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, शिवराज नगरपालिका कृषि शाखा प्रमुख सुजिता शर्मासहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु किसानसँगै हिलाम्मे भएर खेतमा धान रोप्दै रमाए ।
मानो रोपेर मुरी फलाउँने दिनको रुपमा मानिने असार १५ लाई शिवराजमा मात्र होइन, बुद्धभूमि नगरपालिकाको टाँकुमा पनि मेयर केशव कुमार श्रेष्ठको सहभागितामा धान दिवस मनाइएको छ । कार्यक्रममा जनप्रतिनिधि र सर्वसाधारणले खेतमा धान रोपेर दिवस मनाए । यता विजयनगर गाउँपालिकामा पनि अध्यक्ष गोापाल थापा, उपाध्यक्ष लक्ष्मी थारु लगायतले धान रोपेर दही चिउरा खाई दिवसलाई भव्य रुपमा मनाए ।
यस्तै बाणगंगा नगरपालिका ८, चप्परगाउँमा पनि सांसददेखि जनप्रतिनिधि, नेताहरु सर्वसाधारणसँगै रोपाईं गरी धान दिवस मनाएका छन् । कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थी, परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत मुकुन्द भुसाल, मेयर मंगलप्रसाद थारु, नेकपा अध्यक्ष झविलाल पोख्रेलसहित किसानसँगै धान रोपेर दिवस मनाएका थिए । यसका साथै मायादेवी गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानमा पनि धान दिवस धुमधामपूर्वक मनाइएको छ ।
सांस्कृतिक महत्व बोकेको धान दिवस परम्परा स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो मानिन्छ । असारको मध्य दिन असार १५ धान दिवससँगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । यो दिन खेतमा धान रोपाईँसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने प्रचलन रहेको छ ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा देशैभर विशेष रोपाईँ कार्यक्रम गर्ने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  १० : ०९ बजे