चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
सदाका दिनभन्दा कपिलवस्तुको बाणगंगा ८ चप्परगाउँमा केही फरक दृश्यहरु देखिए । असार १५ गते आइतबार । सधै सुनसानजस्तै हुने चप्पर गाउँ भोटेपथमा असार १५ गते आइतबारको दिन विहानैदेखि विशेष चहल पहल थियो । अन्य समयमा विशेष स्थानमा टेन्ट र कुर्ची ओछ्याउनु पर्नेमा सो दिन खेतको बीचमा हिलोमा टेन्ट र कुर्चि बिछ्याइएका थिए । भुँइमा हिलो थियो । मञ्च अगाडी हिँड्दा खुट्टा गड्दथ्यो । तैपनि कार्पेटले थामथुम पारिएको थियो । मञ्चमा धानको बिऊ थियो । मञ्च वरीपरि चहलपहल गर्नेहरुले एकैनासको खरानी रङमा हरियो किनारा भएको प्रिन्टेड टिसर्ट लगाएर यतायती गरिरहेका थिए । कतिपय रातो टिसर्टमा ठाँट्टिएर पल्याकपुल्युक गरिरहेका थिए । यता मञ्चको पश्चिम छेउमा पञ्चे बाजाको धुन घन्किरहेको थियो । बाटोमा ओहोरदोहर गर्नेले पनि अचम्म मानी ती दृश्यरुको सिंहालोकन गरिरहेका थिए ।
जब घडीले साढे ८ बजायो तब मानिसको चहलपहल पनि बाक्लियो । मञ्चमा कार्यक्रम सुरु हुनै आँटेको थियो । कोही मानिसहरु कुर्चिमा बसेर त कोही बाटोमा उभिएर मञ्चतर्फ हेरिरहेका थिए । यत्तिकैमा कार्यक्रम संचालक श्याम सुवेदीले एक्कासी कार्यक्रम सुरु भएको घोषणा गरे । सबै सतर्क बने । त्यति ठुलो मञ्च थियो । तर माइक बिग्रिएकाले संचलक सुवेदीले घोक्रो फुल्याएर चिच्याउँदै कार्यक्रम संचालन गरिरहेका थिए । सवारीको भीँडले गर्दा साँघुरो बाटो जाम थियो । त्यत्तिकैमा भोटेपथतर्फबाट मानिसहरु गाउँदैनाच्दै जुट्दै थिए । युवा युवती बुढाबुढी सबैको राम्रो जमघट थियो । एकैछिनमा सो स्थान मेलाजस्तै बन्यो । यसरी कि त्यहाँ कुनै सांगितिक कार्यक्रम भइरहेको थियो । यो देखेर बाटामा हिँड्नेहरुले पनि अचम्म मानेर हेरिरहेका थिए ।
यो कुनै मेला या पर्व विशेषमा आयोजना गरिएको कार्यक्रम थिएन । कार्यक्रम थियो त केवल २०७६ सालमा कपिलवस्तुमा असार १५ अर्थात १६ औँ राष्ट्रिय धान दिवसको अवसरमा मनाउनको लागि गरिएको तयारी र तामझाम । हरेक बर्षजस्तै यस बर्ष पनि मानो रोपेर मुरी उब्जाउने पर्वका रुपमा असार १५ लाई मनाउने परम्परा अनुसार चप्परगाउँमा कपिलवस्तुकै विशेष कार्यक्रम भइरहेको थियो । प्रधानमन्त्री कृषि आधुनिकिकरण धान सुपरजोन परियोजना कपिलवस्तु,बाणगंगा नगरपालिका र साना किसान सहकारी संस्थाको समन्वयमा भएको बिशेष कार्यक्रम बिभिन्न तरिकाले रोचक भएको छ । कार्यक्रम स्थलमा माथिका भन्दा अरु धेरै फरक दृश्य पनि देखिए । सधैँ कोट र दौरा सुरुवालले ठाँटिएर मञ्चमा आसिन अतिथिहरु पनि हत्तपत्त गर्दै कपडा बदल्दै थिए । कोही बाजाको तालमा नाच्दै थिए । यता पञ्चेबाजाको धुन पनि बजिरहेको थियो । खेत जोत्दै गरेका ट्रयाक्टरहरु त घन्किरहेका थिए नै हिलाम्य भएको एउटा मेसिन मञ्चको पूर्वपट्टी राखिएको थियो । मानौँ त्यो मेसिनलाई एकैछिन हलो र ट्रयाक्टर मान्नुस् । मानिसहरु त्यहाँ पनि भीँडभाग गरेको देखिएको थियो । कसैले भन्दै थिए यो मेसिनले धान रोप्छ । कसैले भन्दै थिए ह्या यस्तो जाबो मेसिनले पनि कहाँ रोप्छ र ? केही सर्वसाधारणले लख काटेजस्तै साँच्चिकै त्यो धान रोप्ने मेसिन नै थियो । यो पटक मेशिनबाट सुरु भएको रोपाइ हेर्न पाइएला भनेर स्थानीयले अनौठो माने । र ब्यग्र प्रतिक्षा गरिरहेका थिए मेसिनले धान रोपेको हेर्न । यता मञ्चमा औपचारिक कार्यक्रम पनि चलिरहेको थियो । मञ्चमा अतिथिहरु गमक्क परेर बसिरहेका थिए । किनभने त्यहाँ प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले धान दिवस २०७६ लेखेको टिसर्ट निशुल्क पहिरिाइदिएको थियो । कार्यक्रम संचालकले पनि छिटोछिटो जिब्रो लट्पट्याइ लट्पट्याइ बोलिरहेका थिए भने बोल्ने वक्ता पनि छिटोछिटो भाषण सकिरहेका थिए । हुन त मञ्चभरी मान्छे थिए । अन्य स्थानका कार्यक्रममा जस्तै गरी त्यहाँ पनि सबैले बोलेर भ्याउने हुन् कि भनेर नाक चिम्राएर बसेका मानिस पनि नेता कमकम बोलेको देखेर अचम्ममा परिरहेका थिए । एक जनाले त भन्दै थिए माइक पाएपछि दिन विताउने नेताहरुलाई आज के भाको हो ? थोरै बोले । छक्क पारे । यत्तिकैमा औपचारिक कार्यक्रम पनि सकियो । कार्यक्रमका अध्यक्ष दोर्णराज सुवेदीले पनि बोल्ने भन्दा पनि गर्ने काम धेरै छ भने । धन्यबाद दिएर कार्यक्रम बिसर्जन गरेको घोषणा गरे । त्यसपछि मानिसहरु बाजा बजेतिर खिचिन थाले । यता प्रमुख अतिथि प्रदेश सांसद विष्णु पन्थी भने लगाएको कमिज र पाइन्ट उतार्न हतारिँदै थिए । नभन्दै पाइन्ट फुकाले र जाँगे (कट्टु) र टिर्समा बुर्कुसी मार्न थाले । अर्को तर्फ नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल पनि धोति र टिसर्टमा देखिए । बाणगंगा नगरका मेयर मंगलप्रसाद थारु भने आफ्नो पुरानै पोशाकमा खेततिर हिँडे । उनले खेत रोप्न भ्याएनन् ।
मञ्चबाट उक्लेपछि सांसद पन्थी बाजाको तालमा कम्मर मर्काउन थाले । सधैँ कोट र पाइन्टमा ठाँटिएर कारमा सैर गर्ने सांसद पन्थीलाई टिसर्ट र कट्टुमा देखेपछि त्यहाँ मानिसहरु एक अर्काको कान फुक्न थाले । कति नमजाले सेता दन्त लहर फिँजाएर हाँस्न थाले । एउटी महिलाले त पछ्यौरीले मुख छोपेर खित्का छोडीछोडी हाँसिन् । सांसद पन्थी पनि पनि मुसुमसु हाँस्दै कम्मर मर्काइरहेका थिए । उनलाई बाणगंगा वडा नम्बर ८ का अध्यक्ष गुणनीधि भूषालले साथ दिँदै थिए । बुर्कुसी मारेर बाजाको तालमा ताल मिलाइरहेका थिए दुवै जनाले । बाजा आफ्नो तालमा घन्किरहेको थियो । सांसद र अतिथिहरु नाचिरहेका थिए ।
किसानलाई त्यो मेसिनले धान कसरी रोप्छ भन्ने प्रतिक्षा थियो । यत्तिकैमा धान सुपर जोनका वरिष्ठ कृषि विकास अधिकृत मुकुन्द भूषालले प्राविधिक कारणवस मेसिनले काम गर्न असमर्थ रहेको जानकारी गराए । त्यसपछि त्यो लावालस्कर खेततिर हानियो । सांसद पन्थी र अरु अतिथिहरु कट्टु र टिसर्ट र धोती लगाएर खाली खुट्टा नाच्दै, कुद्धै थिए । मेसिनले रोपेको हेर्न नपाएर निरास मुद्रामा देखिएका गाउँका वृद्ध किसानहरु सांसद पन्थीको रोपाई र नाचो हेर्न पाइने भो भनेर मेटिएको खुसीमा नयाँ रङ भर्दै त्यही हुलको पछिपछि लागे । एकैछिनको बाजा बजाइ र नचाइपछि खेत रोप्ने स्थान आयो । सबै तलतिर मोडिए । उता खेत हिलैहिलो बनाएर गराभरी बिउ छरेर रोप्नको लागि तैनथ पारेर राखिएको थियो । खेतमा धान रोप्ने पुरुषको जमात विरलै देख्न पाइनेमा यो दिन भने महिलाको तुलनामा पुरुषको संख्या धेरै देखिन्थ्यो । दृश्यहरु अचम्मका थिए । सांसद पन्थी र मञ्चका अतिथि एकाएक हिलोमा फुँगाले । उनैको पछिपछि लागेर फोटोमा आउन पाइन्छ भनेर केही अरु हिलोमा छिरे । यता मायादेवी टिभी र रेडियोका विमल गैरेले कार्यक्रमको सुरु देखि नै छायांकन गरिरहेका थिए । त्यही भएर पनि होला ठुलै संख्यामा बिमललाई केन्द्रमा पारेर मानिसहरु घेरिरहेका थिए । बाजा अनवरत घन्किरहेको थियो । यहि बेला सांसद पन्थीले बिउ हातमा समाते । यताउती पल्याकपुल्यूक गर्दै भटाभट रोप्न थाले । यो दृश्य एकदमै मनमोहक थियो । सबैले तालि बजाए । कतिले सिट्ठी बजाए । बाजाको गति र लय पनि अझै तीव्र भयो । सांसद पन्थी पनि थप हौँसँदै जानीनजानी छिटोछिटो बिउलाई हिलोको दिसा देखाए । यत्तिकैमा मेरो छेमा रोपीरहेकी एक जना दिदीले भनिन् पन्थी त भाषण पनि गर्न जानेका । रोप्न पनि जानेका । यत्तिकैमा अर्कीले थपिन किसानका छोरा न हुन् । के नजान्थे र ?
सांसद पन्थीले मात्रै होइन अरु धेरै पनि हिलोमा गएर रोपिरहेका थिए । केही पुरुष अगुवाहरु पनि जानीनजानी जर्वजस्त बिउको जरालाई हिलोको दिसा देखाउन तछामछाड गरिरहेका थिए । यति मानिस हिलोमा छिरे किरोप्न राखिएको बिऊको संख्याभन्दा रोप्ने रोपाहारहरुको संख्या धेरै थियो । बाजाको तालमा केही मानिसहरु रोपीरहेका थिए । केही हिलो छ्यापाछ्याप गरिरहेका थिए । कोही असारे भाका गुनगुनाइरहेका थिए । जे होओस् एकैछिनमा त्यो खेत पनि रोपेर सकियो । त्यसपछि सबै पुनः औपचारिक कार्यक्रम भएको मञ्चतर्फ मोडिए । परियोजनाले त्यहाँ असार १५ को विशेष खाना दही र चिउरा खाने व्यवस्था पनि मिलाएको थियो । प्रमुख अतिथि,अतिथि सबैले रोपाईपछि दही चिउरा खाए अनि सबै आफ्नो बाटोतर्फ कुलेलम ठोके । जेहोओस् कपिलवस्तुमा जनप्रतिनिधिले जनतासंगै हिलोमा कुच्ने हिम्मत गरे । यो राम्रो हो । यो केवल सामाजिक संजालमा पोष्ट गर्ने सामाग्री नबनोस् । कृषिलाई सम्मानित पेशा बनाएर सबैलार्ई आकर्षित गरी मुलुकलाई आत्मनिर्भर बनाउन सकियोस् । जनता नेता सबै कृषि पेशाालाई ब्यावसायीक बनाएर आत्मनिर्भर बनाउने दिसामा लागून । यही छ, यस बर्षको असारे १५ को शुभकामना ।
प्रतिक्रिया