पाल्पा ।
संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामबरण यादवले लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रता एउटै भएको बताउनु भएको छ ।
शनिबार पाल्पाको तानसेनमा भएको दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दे उहाँले प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्र,गणतन्त्र र समावेशीकरण एउटै भएको बताउनुभएको हो ।
संविधानले सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको भन्दै पूर्वराष्ट्रपति यादवले जातीय तथा भाषिक सबै विभेदको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
प्रेस स्वतन्त्रता बचाउन पत्रकारहरु सक्रिय हुनुपर्ने भन्दै उहाँले जुनसुकै विभेद लोकतन्त्रले स्वीकार गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयक संसदबाट फिर्ता गर्न सरकारसँग माग गर्नुभयो । लोकतन्त्रलाई बलियो र सफल बनाउन प्रेस स्वतन्त्रता अनिवार्य रहेको उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र पाल्पा शाखाको आतिथ्यमा भएको कार्यक्रम आइतबारसम्म सञ्चालन हुने जनाइएको छ ।
१५ असार २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया