मायादेवी अनलाइन, तौलिहवा ।
प्रदेश मामिला तथा कानुन समितिले कपिलवस्तु कारागारको स्थलगत अवलोकन गरेको छ । प्रदेश सभाको संसदीय समितिले कपिलवस्तुको तौलिहवा स्थित जिल्ला कारागार कार्यालयको स्थलगत अवलोकन गरेको हो ।
समितिका सदस्य भोज प्रसाद श्रेष्ठको संयोजकत्वमा कपिलवस्तु आएको अनुगमन टोलीले कारागारको भौतिक पूर्वाधारको अवस्था अवलोकन गर्दै कैदी बन्दीसंग छलफल गरेको छ । समितिका सभापति सहित सदस्यहरु दुई वटा समूह बनाएर प्रदेशका १२ जिल्लामा अनुगमनका लागि खटिएको छ ।
समितिका सदस्य भोज प्रसाद श्रेष्ठको नेतृत्वमा आएको प्रदेश सभा सदस्यहरुको टोलीले कपिलवस्तु कारागारमा रहेका कैदी वन्दीहरुसंग भेटघाट गरेको छ । अनुगमन पछि जिल्ला प्रशासन कार्यालयमा समस्याका बारेमा समिक्षात्मक अन्तरकृया समेत गरेको छ ।
मानव अधिकार र सुशासनको दृष्टिकोणले कारागारको अवस्था कस्तो छ भनेर जानकारी लिन अनुगमनमा आएको समितिका सदस्य भोज प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालको ऐन कानुन अनुसार कारागारको व्यवस्थापन र संचालन, पूर्वाधारको अवस्था र कैदी बन्दीको आधारभूत आवश्यकता लगाएतका विषयमा जानकारी लिएको सदस्य श्रेष्ठले बताउनुभयो । अनुगमन पछि मायादेवी अनलाइन संग कुरा गर्दै भन्नुभयो, ‘स्वास्थ्य सरसफाई, शौचालय, खानेपानी, खाद्यान्न तथा पूर्वाधार लगाएतको अवस्था कस्तो छ भनेर जानकारी लिएका छौं ।
पछिल्लो समय गर्मीयाम संगै कारागारमा खानेपानीको अभाव र शौचालयको समस्या बढि देखिएको छ । त्यसका लागि स्थानीय सरकार तथा प्रदेश सरकारले आवश्यक कदम चाल्नु पर्ने प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तवले बताउनुभयो ।
३ सय क्षमताको २ वटा ब्लकमा रहेको कारागारमा ३ सय ४६ जना कैदी बन्दी रहेको कपिलवस्तु कारागारका निमित्त जेलर सन्तोष थापाले जानकारी दिनुभयो । निमित्त जेलर सन्तोष थापाले कपिलवस्तु कारागारमा नयाँ भवन बनेसंगै यहाँको बसाई व्यवस्थापन धेरै सुधार आएको बताउनुभयो । कारागारमा सिलाई कटाई र मुडा बनाउने तालिम संचालन गरेको समेत जानकारी दिनुभयो ।
कैदी बन्दीहरुले गर्मीयाम संगै खानेपानीको अभाव र शौच गर्दा लाइनमा बस्नु पर्दा निकै कष्टकर भएको बताएका थिए । उनीहरुले पर्याप्त बस्ने ठाँउ र खेल्ने मैदान अभाव रहेको अनुगमन टोली समक्ष राखेका थिए । बन्दीहरुले रातको समयमा स्वास्थ्य समस्या पर्दा कठिनाई हुने गरेको समेत बताएका थिए ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले कपिलवस्तु कारागार धेरै व्यवस्थित तरिकाले संचालन भईरहेको जानकारी दिनुभयो । खानेपानी र शौचालयको लागि विभिन्न निकायमा पहल भइरहेको बताउनुभयो । खानेपानीका लागि कारागारमा बोरिङ्ग गाड्दा समेत पानी नआएको अर्यालले बताउनुभयो ।
अनुगमनमा प्रदेश सभा सदस्यहरु रमा अर्याल, भगवतीदेवी भण्डारी, खड्क बहादुर केसी, सन्तोष कुमार पाण्डे, रिना नेपाल, जिल्ला समन्वय समितिकी उपप्रमुख तारावती चौधरी, कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी कसौधन, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल लगाएतका पत्रकारहरुको सहभागीता रहेको थियो ।
१३ असार २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया