८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

जन्मदिनको अवसरमा सन्दिपले गरे उदाहरणीय काम



थानेश्वर अधिकारी, कोपवा ।
जन्मदिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टमा गरिने फजुल खर्च गर्ने परम्परा वढिरहेको वेला कपिलवस्तुका एक युवाले हाजिरी जवाफ प्रतियोगिताको संयोजन गरी उदाहरणीय कार्य गर्नुभएको छ । बाणगंगा नगरपालिका ६ लक्ष्मणघाट निवासी सन्दिप न्यौपानेले आफ्नो २१ औ जन्मोत्सवको अवसर पारेर मा. वि. स्तरिय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्नुभएको हो ।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सुकदेव थारुले प्रमुख अतिथिको आसनबाट बोल्दै पछिल्लो समय जन्म दिनको अवसरमा युवा पिंढीले विभिन्न किसिमका फजुल खर्च गर्ने परिपाटी बस्दै आएको बेला लक्ष्मणघाट सामाजिक विकास केन्द्रका कोषाध्यक्ष सन्दिप न्यौपानेले यस्तो सामाजिक तथा उदाहारणीय कार्य गरेकोमा प्रशंसा व्यक्त गर्नु भयो । साथै उहाँले आगामी दिनमा आयोजक संस्था लक्ष्मणघाट सामाजिक विकास केन्द्रसँग वडाले आवश्यक सहयोग सहकार्य गर्दै जाने बताउनु भयो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि लक्ष्मणघाट मा.वि.का प्रधानाध्यापक चेतनाथ पौडेलले आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।
प्रतियोगितामा बाणगंगा नगरपालिका वडा नं ५ र ६ का ५ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा कपिलबस्तु ज्ञान ज्योति शिक्षा सदन बैदौलीका दिप्सन भुषाल र कविता पोख्रेल प्रथम स्थान हासिल गरेका छन भने अन्नपुर्ण विद्या मन्दिर मा वि कोपवाका विजया भुषाल र सुजल पाण्डे द्धितिय स्थान हासिल गर्न सफल हुनुभएको छ ।
कार्यक्रममा श्री माध्यमिक विद्यालय झण्डा मधौली, श्री महेन्द्र मा. वि. कोपवा र श्री लक्ष्मणघाट मा. वि. का विद्यार्थीहरुले समेत सहभागिता जनाएका थिए । लक्ष्मणघाट सामाजिक विकास केन्द्रको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सन्दिप न्यौपानेको अध्यक्षता, संस्थाका सदस्य अन्जित खनालको स्वागत मन्तव्य र सह सचिव सरिता थारुको संचालनमा सम्पन्न भएको हो ।
प्रथम द्धितिय स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । साथै प्रतियोगितामा सहभागिता जनाएको ५ वटै विद्यालयलाई प्रशंसा पत्र समेत प्रदान गरिएको छ । संस्थाका उपाध्यक्ष ओम प्रकाश पौडेल र सचिव थानेश्वर अधिकारी, कोषाध्यक्ष सन्दीप न्यौपाने र लक्ष्मणघाट मा. वि. का प्रध्यानध्यापक चेतनाथ पौडेलले संयुक्त रुपमा पुरस्कार तथा प्रशंसा पत्र वितरण गर्नु भएको हो ।

 

प्रकाशित मिति : १३ असार २०७६ शुक्रबार ००:००  ८ : २२ बजे