मायादेवी अनलाइन, तौलिहवा ।
ए वान मिडिया सेन्टरले सञ्चालन गरेको कपिलवस्तु नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगीताको उपाधि सिद्धार्थ विद्यामन्दिर तौलिहवाले जितेको छ । शुक्रबार सम्पन्न भएको प्रतियोगीतामा सहभागी १२ विद्यालयलाई पछाडि पार्दै सिद्धार्थले उपाधि जितेको हो । प्रतियोगीतामा श्री सेकेण्डरी विद्यालय कुस्मा मावि दृतीय, हुँदा मोडल इंग्लिस बोर्डिङ स्कूल तृतीय र तिलौराकोट मावि सान्त्वना स्थान आउन सफल भएका छन् ।
ए वान मिडिया सेन्टरले जिल्लाका ६ ओटै नगरपालिकामा हाजिरी जवाफ प्रतियोगीता सञ्चालन गरिरहको छ । ‘सिजन टु’ अन्र्तगत सुरु भएको प्रतियोगीता शुक्रबार कपिलवस्तु नगरपालिकामा सम्पन्न भएसंगै सबै नगरमा कार्यक्रम सकिएको मिडिया सेन्टरले जनाएको छ ।
नगर स्तरीय प्रतियोगीताको उद्घाटन गर्दै कपिलवस्तु नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले हाजिरी जवाफ प्रतियोगीताले विद्यार्थीको सिकाईमा महत्वपूर्ण सहयोग हुने बताउनुभयो । मिडिया सेन्टरले आयोजना गरेको कार्यक्रमले विद्यार्थीमा उत्साह थपेको भन्दै आगामी दिनमा पनि यस्तै प्रकारका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
सिद्धार्थ विद्या मन्दिरका प्राचार्य गुनाखर गैरेले ए वान मिडिया सेन्टरले हरेक बर्ष हाजिरी जवाफ प्रतियोगीता सञ्चालन गर्दै आएको भन्दै खुसी व्यक्त गर्नुभयो । सरकारी र नीजि विद्यालयका विद्यार्थीलाई सहभागी गराएर आयोजना हुने कार्यक्रमले विद्यालय प्रतिको आत्मियता बढ्नुको साथै विद्यार्थीको शिक्षण सिकाईमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
क्यापिटल फुड्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको प्रतियोगीतामा जिल्ला प्रथम हुनेले कक्षा ११ र १२ मा पूर्ण छात्रबृत्ती सहित नगद पुरस्कार, शिल्ड, मेडल, प्रमाणपत्र र विभिन्न आकर्षण पुरस्कार पाउनेछन् । छात्रबृत्तीको लागि बुटवलका न्यू होराइज मावि, एभरेष्ट मावि र कपिलवस्तुको पारिजात मावि बनगाईले सहकार्य गरेका छन् । जिल्ला स्तरीय प्रतियोगीता अबको एक साता भित्र सम्पन्न गर्ने तयारी भएको आयोजकले जनाएको छ ।
१३ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया