पाल्पा ।
रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचौँ नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६-७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताइएको छ ।
नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बीमाको व्यवस्था गरिएको र छोरी जन्मिएमा पाँच सय रुपैयाँ थप प्रदान गर्ने बताउनुभयो ।
लैङ्गिक समानता तथा समावेशीकरणका लागि उपभोक्ता समिति गठनमा ३३ प्रतिशत महिला अनिवार्य गर्नाका साथै प्रमुख पदमा कम्तीमा एक जना महिला हुनुपर्ने नीतिको कार्यान्वयन गरिने नगरप्रमुख थापाले बताउनुभयो ।
प्रत्येक अवस्थामा स्थानीय सरकारको तीन फरक कार्यक्रमको व्यवस्थाअन्तर्गत बालबालिकालाई शिक्षा, स्वस्थ्य, पोषण, युवालाई सीप, उद्यमशीलता र रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान, संरक्षण र सुरक्षाको प्रत्याभूतिका लागि कार्यक्रम सञ्चालन गर्ने थापाले बताउनुभयो ।
ज्येष्ठ नागरिकहरु जिउँदो इतिहास भएकाले नगरपालिकाले अनुभव आदानप्रदान गर्न विभिन्न स्थानमा ज्येष्ठ नागरिक मिलन केन्द्र, चौतारो निर्माण तथा लौरी वितरण कार्यक्रम गरिने र बाबुआमा नपाल्ने सन्तानलाई नगरपालिका तथा वडाको सेवासुविधाबाट वञ्चित गरिने नीति लिइने नगरपालिकाले जनाएको छ ।
१२ असार २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया