चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
विभागिय फुटवल टिम नेपाल पुलिस क्लबमा अनुबन्ध भएपछिको पहिलो खेलमै कपिलवस्तुका सञ्जु सेनले २ गोल गरी टिमलाई जिताएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबारबाट सुरु भएको ललित मेमोरियल यू–१८ फुटबल प्रतियोगितामा चर्चित जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्ने क्रममा दुवै गोल सञ्जुले गरेका हुन् । खेलको १६औं मिनेटमा सन्जुले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा साचुले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए महत्वपुर्ण ३ अंक दिलाए । जावलाखेलका लागि कप्तान साचु गुरुङले एक गोल फर्काए ।
जितसंगै समूह ‘सी’ मा पुलिसले ३ अंक जोडेको छ । अर्को खेलमा त्रिभुवन आर्मीले सुखद सुरुवात गर्यो । आर्मीले फ्रेन्ड्स क्लबलाई २–० ले हराउँदा विशाल बस्नेत र जय अधिकारीले गोल गरका थिए ।
सञ्जुको चर्चा सुरु
कपिलवस्तुको मुहान युवा क्लवबाट जर्सी नम्बर १० मा मैदान देखिएका सञ्जुलाई पुलिसले पनि जर्सी नम्बर १० नै प्रदान गरेको छ । सञ्जुको प्रदर्शनपछि उनको खेल कौशलको चर्चा सुरु भएको छ । उनको बल भगाउने कौशल र पोष्टमा प्रहार गर्ने कलाको राजधानीबाट चर्चा सुरु भएको छ । कपिलवस्तु फुटवल संघका अध्यक्ष राम सेनले सञ्जुमा राम्रो क्षमता भएका कारण उसले राष्ट्रिय स्तरमा पनि राम्रो प्रदर्शन गर्नेमा आफू आशाबादी रहेको मायादेवी अनलाइनलाई जानकारी दिनु भयो । उनको यही प्रदर्शन जारी रहेमा छिटै नेपाली राष्ट्रिय टिममा देखिनेमा कुनै शंका नभएको सेनको भनाई छ । सञ्जुको प्रदर्शनपछि आफ्नो क्लव मुहान एफसीले खुसी व्यक्त गरेको छ । भर्खर अध्यक्षमा चयन हुनुभएका रविन्द्र प्रताप सेनले सञ्जुको प्रदर्शन जिल्लाको लागि मात्र नभएर जिल्लाबासीको लागि नै गौरवको भएको बताउनु भयो । २ गोल गरेर पुलिसलाई जिताएका सञ्जुले यो आफ्नो सुरुवात मात्र भएको बताएका छन् । आगामी दिनमा यो भन्दा उत्कृष्ट प्रदर्शन गरी जिल्लाको गरिमा बढाउन सके आफ्नो सफलता हुने मायादेवी अनलाइनलाई जानकारी दिएका छन् ।
कपिलवस्तु र आसपासका जिल्लामा संचालन हुने खेलमा स्थानीय मुहान एफसी झुँगालाई यस बर्षमा जितको ह्याट्रिक गराउन उनले महत्वपूर्ण योगदान दिएका थिए । हृष्टपुष्ट र खेलाडीमा हुनुपर्ने उचाई भएका सञ्जु मौका पाउनासाथ विपक्षीको गोल पोष्टमा दिसा देखाउनमा माहिर मानिन्छन् । दायाबाया दुवै खुट्टाले विपक्षीलाई छलाउन सक्ने क्षमता भएका सञ्जुले आठौँ राष्ट्रिय खेलमा पनि प्रदेश ५ को लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह विजेता तथा उपविजेतासहित अन्य दुई उत्कृष्ट टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया